काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले विश्वव्यापी डिजिटल भुक्तानी प्लेटफर्म अलिपे प्लससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यसँगै फोनपेले आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध गराएको छ, जसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार व्यवसायमा नयाँ आयाम थपेको छ।
यो साझेदारीले चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटाली लगायत एघारभन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाल भ्रमणका क्रममा आफ्ना ई-वालेटहरू जस्तै अलिपे, काकाओपे, जिक्यास, टच एन गो, अलिपेएचके, ट्रुमनी र टिनाबामार्फत सहजै क्यूआर स्क्यान गरी भुक्तानी गर्ने अवसर प्रदान गर्नेछ। यसले पर्यटकहरूलाई नगद बोक्ने वा मनी एक्सचेन्ज खोज्ने झन्झटबाट मुक्त गर्दै सुरक्षित, सहज र सुविधाजनक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
हाल नेपालभर रहेका १७ लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा यो सुविधा उपलब्ध हुनेछ। यसले नेपालको पर्यटन उद्योगलाई मात्र नभई समग्र आर्थिक गतिविधिलाई समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
एन्ट इन्टरनेशनलका दक्षिण-पूर्वी एशिया, दक्षिण एशिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले यस साझेदारीप्रति खुसी व्यक्त गर्दै भने, “नेपालको डिजिटल भुक्तानी र पर्यटन इकोसिस्टमको उन्नतिमा योगदान दिन पाएको यो क्षणलाई हामी गर्वका साथ मनाउँदैछौं। अलिपे प्लसले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै छ।” उनले भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सकिनेमा जोड दिए।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अलिपे प्लस र फोनपे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टरअप्रेबिलिटी र वित्तीय साझेदारीतर्फ ठूलो कदम चालेको बताए। उनले नेपाललाई यात्रा, व्यापार र सांस्कृतिक आदानप्रदानको केन्द्रका रूपमा स्थापित गर्ने यो कदम आधुनिकीकरणतर्फको महत्वपूर्ण यात्राको हिस्सा बन्ने विश्वास व्यक्त गरे।
यस साझेदारीले नेपालको डिजिटल भुक्तानी परिदृश्यमा क्रान्तिकारी परिवर्तन ल्याउनुका साथै विदेशी पर्यटकहरूका लागि नेपाललाई अझ आकर्षक गन्तव्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । यसले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास गरिएको छ ।




