काठमाडौं । भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा अभियुक्त आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवमा दोषी ठहर गर्दै दुबै जनालाई कैदसँगै आर्थिक जरिवाना र क्षतिपूर्ति तिर्ने आदेशसमेत दिएको हो ।
सुर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा अवैध रूपमा रकम उठाइरहेका व्यक्तिहरूमाथि कारबाही गर्न सुरक्षानिकायमा उजुरी दिएको थियो । सो क्रममा आशिका तामाङसहितको समूहले पालिकाद्वारा राखिएको सूचना च्यातेको, सार्वजनिक काममा अवरोध पुर्याएको भन्दै आपराधिक उपद्रवमा मुद्दा दायर गरिएको थियो ।
अदालतले दुबैलाई पाँच–पाँच दिन कैदका साथै रु ५ सय जरिवाना, रु ८,३ सय क्षतिपूर्ति पीडितलाई तिर्नु पर्ने र पीडित राहत कोषमा जनही रु २०० जम्मा गर्नुपर्ने आदेश दिएको छ ।
अदालतमा बयान दिने क्रममा आशिका तामाङले घटनाबारे गल्ती महसुस गरेको र दोहोरिन नदोहोरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उक्त मुद्दा सार्वजनिक चासोको विषय बनेको थियो, जसमा युवाहरूको सामाजिक गतिविधि, स्थानीय तहको भूमिकासम्बन्धी बहससमेत चलेको थियो ।




