काठमाडौं । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डुबेर मृत्यु भएको छ । गोदावरी नगरपालिका-९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो ।
नदीमा नुहाउने क्रममा दिउँसो २ बजेतिर धनगढीका चार किशोर बेपत्ता भएका थिए । बेपत्ता भएका चारै जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए । मृत भेटिनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेका छन् ।
उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको छ । साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो ।
उनीहरूसँगै गएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल रहेका छन् । मृतकहरूमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय शोकमा डुबेका छन् ।




