काठमाडौं । विगत १५ घण्टादेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मधेस प्रदेशका केही स्थानबाहेक अन्यत्र बुधबार साँझदेखि नै पानी परिरहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सक्रिय भएसँगै देशभर वर्षा बढेको हो ।
काठमाडौँ उपत्यकामा बुधबार बेलुका ६ बजेदेखि लगातार वर्षा भइरहेको छ । ‘बीचमा एक घण्टाजति रोकिए पनि उपत्यकामा बेलुका ६ बजेदेखि निरन्तर पानी परिरहेको छ,’ मौसमविद् ढकालले बिहीबार बिहान ९ बजे जानकारी दिँदै भने, ‘कहिले सिमसिम, कहिले ठूलै पानी परिरहेको छ। हाम्रो कार्यालय रहेको विमानस्थल क्षेत्रमा त भारी वर्षासमेत भएको छ ।’
आज दिनभर उपत्यकामा मौसम बदली र वर्षा जारी रहने सम्भावना रहेकाले तत्काल मौसम खुल्ने सम्भावना कम रहेको उनले बताए । यद्यपि, वर्षाका कारण हालसम्म विमानस्थलबाट हुने उडानमा भने खासै समस्या नदेखिएको उनको भनाइ छ । तर, वर्षा बढ्दै गएमा पारदर्शिता कम भई हवाई सेवामा केही असर पर्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।
बंगाल खाडीको प्रभावले मनसुन सक्रिय
बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाका कारण नेपालमा मनसुन केही सक्रिय भएको मौसमविद्हरू बताउँछन् । ‘बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाका कारण नेपालमा मौसम बदली र वर्षा केही बढेको हो,’ मौसमविद् ढकालले भने, ‘आज दिनभर र राति पनि वर्षा जारी नै रहने देखिन्छ, भोलि (शुक्रबार) भने वर्षा केही कम हुने सम्भावना छ ।’
यसको अर्थ भोलि मौसम बदली र वर्षा नहुने भन्ने चाहिँ होइन, तर आजको जति वर्षा हुने सम्भावना कम रहेको छ । लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । सडकहरू हिलाम्मे भएका छन् ।




