कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था समितिको सभापति घोषित

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको महत्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । समितिको बुधबार बसेको बैठकमा ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लालले न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापति थिइन् । उनले उक्त पदबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको प्रस्तावकमा काँग्रेस सांसद रामहरि खतिवडा रहेका थिए भने नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन गरेका थि ए। यसअघि कुलिङ पिरियड विवादमा परेर रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिले मुलुकको शासन व्यवस्था, सुरक्षा, प्रशासनिक सुधार लगायतका महत्वपूर्ण विषयहरूमा काम गर्ने हुँदा यसको सभापति पदलाई निकै चासोका साथ हेरिन्छ । न्यौपानेको निर्विरोध चयनले संसदमा दलहरूबीचको सहकार्य र सहमतिको वातावरणलाई पनि संकेत गरेको छ ।

अनुभवी सांसद न्यौपानेको नेतृत्वमा समितिले प्रभावकारी ढंगले काम गर्ने विश्वास लिइएको छ । उनको कार्यकालमा समितिले जनसरोकारका विषय र सुशासन कायम गर्नमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप