काठमाडौं । काठमाडौंको रमणीय झोर क्षेत्रमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको श्रीकृष्ण बौडेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकसित भएको छ । तारकेश्वर र टोखा नगरपालिकाको संयुक्त पहलमा यस क्षेत्रको प्रचार प्रसार भएपछि धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकसित भएको हो ।
बौडेश्वर महादेव मन्दिरको आफ्नै पौराणिक कथा र महत्व छ । किम्बदन्तीअनुसार, यस स्थानमा सतीदेवीको बायाँ स्थान पतन भएर श्रीकृष्ण गणेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । मन्दिरको गर्भमा कृष्ण भगवानको बास रहेको र सीताको पाइलाको छाप रहेको ढुंगा पनि यहाँको अर्को आकर्षण हो । ‘यो स्थान साँच्चै नै अनौठो र आश्चर्यजनक छ । पहाड जस्तो देखिने संरचनालाई छिचोलेर भित्र प्रवेश गर्दा एउटा गुफाभित्र श्री गणेश र भगवानको स्थान देख्न पाइन्छ । यो स्थान गोसाइँकुण्डमा प्रवेश गर्नुभएको भन्ने किंवदन्तीसँग पनि जोडिएको छ,’ मन्दिरका पुजारी बताउँछन् ।
हालसम्म मन्दिरमा पुग्ने झरनाको कारण धेरैलाई यसको धार्मिक महत्वबारे जानकारी नभएको गुनासो आउने गरेको थियो । अब भने मन्दिरको उचित प्रचारप्रसार र विकासले यसको महिमालाई व्यापक बनाउने विश्वास लिइएको छ ।
पछिल्लो समय बौडेश्वर महादेव मन्दिर भक्तजन र आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन वैकुण्ठ चतुर्दशी मेला लाग्ने गर्दछ, जहाँ पारिवारिक सुख र सन्तान प्राप्तिका लागि श्रद्धालुहरूले दीपदान गर्छन् । सामान्य दिनमा पनि यहाँ दैनिक सयौँदेखि हजारौँ भक्तजनहरू दर्शनका लागि आउने गरेका छन् ।
मन्दिर व्यवस्थापनले भक्तजनहरूका लागि कुनै शुल्क नलिने व्यवस्था गरेको छ । ‘हामी टिकट प्रणाली लागु गर्ने पक्षमा छैनौँ । झरना हेर्न आउने वा मन्दिरमा दर्शन गर्न आउने सबैका लागि यो निःशुल्क हो,’ पुजारीले प्रष्ट पारे । मन्दिर परिसरमा हरेक सोमबार विशेष भजन कीर्तनको आयोजना गरिन्छ भने अन्य दिनहरूमा पनि भक्तजनहरूको उपस्थिति अनुसार भजन गाइन्छ । पुजारी आफैँले मादल, तबला बजाएर भजन गाउँदा भक्तजनहरू अत्यन्तै खुसी हुने गर्छन् । यो आध्यात्मिक वातावरणले भक्तजनहरूलाई अझ बढी आकर्षित गरेको छ ।
मन्दिर परिसरमा झरना र प्राकृतिक सुन्दरताको संयोजनले यसलाई एक अद्वितीय स्थल बनाएको छ । पुजारीकाअनुसार भक्तजनहरूले १५-२० मिनेट दर्शन गर्ने योजना बनाएर आउँछन्, तर यहाँको सुन्दरताले गर्दा उनीहरू २५-३० मिनेटसम्म यहीँ रमाउँछन् ।
हेर्नुहोस् भिडियो :-




