रुबि साह हत्याकाण्डको पटाक्षेप : मुख्य आरोपितले गरे आत्मदाहको प्रयास, जलेको अवस्थामा पक्राउ

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्याका मुख्य आरोपी लक्ष्मण पासवान शरीर जलेको गम्भीर अवस्थामा फेला परेका छन् । हत्यापछि फरार रहेका उनले बुधबार बिहान आफैँमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, माधवनारायण नगरपालिका-६, माधोपुरस्थित नहर नजिकै एक व्यक्तिले आत्मदाह गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो । एसपी नेत्रमणी गिरीका अनुसार, प्रहरी पुग्दा पासवान शरीर जलेर गम्भीर घाइते अवस्थामा छटपटाइरहेका थिए । प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित एक अस्पतालमा भर्ना गरेको छ । उनको अवस्था गम्भीर छ ।

के थियो घटना ?
गत शनिबार गौर बजार जान्छु भनी डेराबाट निस्किएकी रुबि साह बेपत्ता भएकी थिइन् । पछि उनको शव क्रूरतापूर्वक हत्या गरी सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो । उक्त विभत्स हत्याको मुख्य योजनाकार र अभियुक्तका रूपमा प्रहरीले लक्ष्मण पासवानको पहिचान गरी खोजी तीव्र पारेको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका पासवानले आज बिहान करिब साढे ६ बजे माधोपुरबाट बिसुनपुरवा-मानपुर जाने बाटो नजिकैको बगैँचामा आफैँलाई जलाएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । घटनाले साह हत्या प्रकरणलाई थप रहस्यमय र नाटकीय बनाएको छ । प्रहरीले पासवानलाई निगरानीमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप