पर्वतारोहण संघमा सत्ता गठबन्धनलाई पराजित गरेपछि प्रचण्डको बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै पर्वतीय पर्यटनको विकासका लागि सरकारले सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खुमलटारस्थित निजी निवासमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) सहितको प्यानललाई पराजित गर्दै विजयी भएको फुर्वा गेल्जे शेर्पा नेतृत्वको कार्यसमितिलाई बधाई दिएका हुन् । नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको उक्त प्यानलले संघको निर्वाचनमा एक उपाध्यक्ष र एक सदस्यबाहेक सबै पदमा जित हासिल गरेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरे । ‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ । यो नयाँ कार्यसमितिले एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने, ‘तपाईंहरूको भूमिकामा मेरो र पार्टीको पूर्ण समर्थन रहनेछ ।’

आफ्नो व्यक्तिगत अनुभव र एनएमसँगको पुरानो सम्बन्धको स्मरण गर्दै प्रचण्डले पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको बताए । उनले लामो समयदेखि रोकिएको पर्यटनसम्बन्धी विधेयकलाई अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिँदै त्यसलाई संसदबाट पारित गराउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिज्ञासमेत गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री