मोडर्न कन्या कलेजमा तीजको उल्लास, चर्चित कलाकार मिस पबि सम्मानित

  • सांस्कृतिक पर्वको संरक्षण गर्दै चेलीबेटीबीच खुसी साटासाट

काठमाडौँ । हरितालिका तीजको आगमनसँगै दर खाने र खुवाउने कार्यक्रमको रौनक बढेको छ । यसै सन्दर्भमा मोडर्न कन्या कलेज मिलन चौतारीले शनिबार ‘हाम्रो तीज रमाइलो तीज’ नामक एक विशेष दर कार्यक्रम आयोजना गरेको छ । पत्रकार कल्पना शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चर्चित कलाकार तथा सामाजिक सञ्जालकी लोकप्रिय हस्ती ‘मिस पबि’लाई सम्मान गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा हालकी चर्चित टिकटकर तथा कलाकार मिस पबिलाई सम्मान गरिएको थियो । आफ्नो कला र सामाजिक सञ्जालमार्फत युवा पुस्तामा सकारात्मक प्रभाव पारेको भन्दै आयोजकले उनलाई सम्मान गरेको हो । सम्मान ग्रहणपछि मिस पबिले आयोजकप्रति आभार व्यक्त गर्दै तीजले सबैको जीवनमा खुसी ल्याओस् भन्ने शुभकामना दिइन् ।

विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा सञ्चारकर्मी ब्यन्जु सरोज, सामाजिक अभियन्ताहरू अप्सरा थापा, सुनिता केसी, सहकारी अभियन्ता सीता भट्टराई, रुपा थापालगायतको उपस्थिति थियो । आयोजकले उपस्थित चेलीबेटीहरूलाई दर खुवाएर तीजको शुभकामना आदानप्रदान गरेको थियो ।

कार्यक्रमकी सभापति पत्रकार शर्माले तीज पर्वले महिलाहरूलाई एकै ठाउँमा ल्याएर सुखदुःख साट्ने अवसर प्रदान गर्ने बतान् । उनले भनिन्, ‘यस्ता कार्यक्रमले हाम्रो मौलिक संस्कृतिलाई जीवन्त राख्न मात्र नभई महिलाहरूबीच एकता र सहकार्यको भावनालाई पनि बलियो बनाउँछ ।’

भब्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई उजागर गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप