सत्ता गठबन्धनलाई झट्का, नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नेतृत्वमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको निर्वाचनमा उनले सत्ता गठबन्धन समर्थित उम्मेदवार कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट पर्यटन व्यवसायीहरूको समर्थन पाएका शेर्पाले ३४२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेस र नेकपा (एमाले) निकट व्यवसायीहरूको साझा उम्मेदवार गुरुङले २८८ मतमा चित्त बुझाउनुपर्‍यो ।

शेर्पाको जितसँगै उनको प्यानलले अन्य मुख्य पदहरूमा पनि वर्चस्व कायम गरेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल (३४५ मत), प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा (३५९ मत), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी (३६८ मत), महासचिवमा राजेन्द्र लामा (३१८ मत) र सचिवमा चन्दन थापा (३५८ मत) विजयी भएका छन् ।

कोषाध्यक्षमा बराबरी, कार्यकाल आधा-आधा बाँड्ने सहमति
कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४ मत प्राप्त गरे । बराबरी मतपछि गोलाप्रथाको अवस्था आए पनि अन्ततः दुवै उम्मेदवारले कार्यकाल आधा-आधा बाँड्ने सहमति गरेका छन्, जसलाई निर्वाचन समितिले मान्यता दिएको छ ।

यसैगरी, संघको सदस्यहरूमा मुलाल गुरुङ, थुप्देन शेर्पा, देण्डी शेर्पा, विक्रम कार्की, निशा भोटे, केदार न्यौपाने, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, गोकुल थापा, दिकी शेर्पा र माधवकुमार धमला निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री