मकवानपुरमा एक घण्टामै भारी वर्षा, काठमाडौंसहित देशका विभिन्न भागमा मनसुन सक्रिय

काठमाडौं । शुक्रबार अपराह्न देशका विभिन्न स्थानमा वर्षा भएको छ, जसमध्ये मकवानपुरमा एक घण्टाकै अन्तरालमा भारी वर्षा रेकर्ड गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सक्रिय मनसुन प्रणालीका कारण काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको हो ।

महाशाखाका अनुसार मकवानपुरसहित काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, जुम्ला र ताप्लेजुङ लगायतका जिल्लामा वर्षा भएको छ । मकवानपुरमा भारी वर्षा भए पनि अन्य स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा मापन गरिएको छ ।

ठाउँपिच्छे फरक बादलको प्रभाव

महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार, देशका विभिन्न भागमा छुट्टाछुट्टै बादल प्रणाली विकसित भई वर्षा गराइरहेका छन् । मेघगर्जन र चट्याङसहित पानी पार्ने एउटा बादल पूर्वमा विकास भएर पश्चिमतिर सरिरहेको छ । “मकवानपुर आसपास विकास भएको बादल प्रणाली पश्चिमतिर धादिङ, गोरखा हुँदै पोखरातर्फ सर्दैछ,” उनले भने ।

तर, काठमाडौं उपत्यकामा भएको वर्षा भने स्थानीय रूपमै विकसित भएको अर्को छुट्टै बादल प्रणालीका कारण भएको उनले स्पष्ट पारे । उनका अनुसार बुटवल र दाङ क्षेत्रमा पनि छुट्टाछुट्टै बादल प्रणाली विकसित भई वर्षा गराइरहेका छन्, जसले गर्दा पहाडी क्षेत्रमा वर्षाको सम्भावना बढी देखिएको छ ।

अझै केही समय वर्षाको सम्भावना

मौसमविद् ढकालले वर्षाको क्रम अझै केही समय जारी रहने सम्भावना रहेको बताए । “काठमाडौंमा पनि अझै एक/दुई घण्टा पानी पर्न सक्छ, तर यो लामो समयसम्म टिकिरहने झरी होइन,” उनले भने । मनसुनको समयमा यस्ता साना र स्थानीय वायुको प्रभावले निश्चित स्थानमा वर्षा गराउने प्रणालीहरू विकसित हुनु सामान्य भएको उनको भनाइ छ ।


कस्तो वर्षालाई के भनिन्छ?

मौसम पूर्वानुमान महाशाखाले वर्षाको मापनलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको छ । कुनै स्थानमा २४ घण्टाको अवधिमा:

  • १० मिलिमिटरसम्म पानी परेमा: हल्का वर्षा

  • १० देखि ५० मिलिमिटरसम्म पानी परेमा: मध्यम वर्षा

  • ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा: भारी वर्षा

  • १०० देखि २०० मिलिमिटरसम्म पानी परेमा: धेरै भारी वर्षा

  • २०० मिलिमिटरभन्दा बढी पानी परेमा: अति भारी वर्षा

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री