पूर्णबहादुर खड्काको दाबी- २०८४ मा गठबन्धन चाहिँदैन, काँग्रेस एक्लैले बहुमत ल्याउँछ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले अपेक्षित गतिमा काम गर्न नसके पनि विकास र सुधारका कार्यहरूलाई निरन्तरता दिइरहेको बताएका छन् । उनले काँग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको जगमा सरकार दृढतापूर्वक अघि बढिरहेको स्पष्ट पारे ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले सरकारको कामलाई अझै ‘चम्किलो’ बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “जुन वेग र गतिमा हामीले काम गर्नुपर्ने थियो, त्यो भएको छैन, तर काम निरन्तर अघि बढिरहेको छ । यसलाई अझै गति दिनुछ ।”

उपसभापति खड्काले सरकारले विभिन्न क्षेत्रमा सुधारका कामहरू थालनी गरेको दाबी गरे । विशेषगरी मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विदेशी लगानी भित्र्याउन तथा सूचना प्रविधि (आईटी) क्षेत्रले आर्जन गरेको सम्पत्तिलाई विश्वभर लगानी गर्न पाउने गरी विभिन्न ऐन, कानुनमा संशोधन गरिएको उनले उल्लेख गरे ।

“सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सात बुँदे सहमतिको जगमा यो सरकार अघि बढेको छ,” उनले भने, “संघ, प्रदेश र स्थानीय तहमा हामी पहिलो पार्टी भएकाले हाम्रो दायित्व पनि सबैभन्दा बढी छ ।”

कार्यक्रममा बोल्दै उपसभापति खड्काले आगामी निर्वाचनमा काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने दाबीसमेत गरे । पार्टीभित्र एकता कायम राख्न सके २०८४ सालको निर्वाचनमा काँग्रेसलाई कुनै पनि दलसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नपर्ने उनको जिकिर थियो । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काँग्रेस एक्लै बहुमतसहित देशको नेतृत्व गर्न सक्षम रहेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री