काठमाडाैँ । चेल्सीलाई संघर्षपूर्ण जित दिलाउने क्रममा इडन हजार्डले दुई गोल गरेका छन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डमाथि २–१ को जित निकालेको हो ।
चेल्सीको जितमा दुवै गोल हजार्डले गरेका हुन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफकै इन्जुरी समयको तेस्रो मिनेटमा रोबर्टो परेयराले घरेलु टोली वाट्फोर्डका लागि बराबरी गोल फर्काए ।
तर ५८ औँ मिनेटमा चेल्सीले पेनाल्टी पायो र त्यसमा हजार्डले गोल गरे । जितपछि चौथो स्थानको चेल्सीको १९ खेलबाट ४० हंक भएको छ । वाट्फोर्ड २७ अंकसहित नवौँ स्थानमा झरेको छ ।
लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा पाँचौँ स्थानको आर्सनल ब्राइटनसँग १–१ को बराबरीमा रोकियो ।
अर्को खेलमा रेलिगेशन जोनबाट बाहिरि निस्किन प्रयासरत क्लाउडियो रानिएरीको टिम फुलह्याम वुल्भ्ससँग १–१ कै बराबरीमा रोकियो । राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र कार्डिफले गोल रहित बराबरी खेलेका छन् ।



