काठमाडाैँ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो टिम युभेन्टसलाई हारबाट जोगाएका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोको गोलले युभेन्टसलाई एटलान्टासँग पराजित हुनबाट रोक्यो र उसको अपराजित यात्रा कायम रह्यो ।
अवे मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै घरेलु टोली एटलान्टाका बेरात डिजिमसितीले आत्मघाती गोल गरेपछि युभेन्टसले अग्रता लियो । एटलान्टाका लागि २४ औँ मिनेटमा डुभान जापाटाले बराबरी गोल गरे ।
५३ औँ मिनेटमा रोड्रिगो बेनतान्कुर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो । त्यसको तीन मिनेटपछि जापाटाले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई २–१ को अग्रता दिलाए ।
तर रोनाल्डोले ७८ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए । यो खेलमा रोनाल्डो सुरुमा बेन्चमा थिए । उनी यो सिजनको सुरुमा रियल मड्रिडबाट युभेन्टसआएपछि पहिलो पटक बेन्चमा रहेर खेल सुरु गरेका हुन् ।
थप खेलाडीको रुपमा मैदान छिरेको १३ मिनेट भित्रै उनले गोल गरेका हुन् । रोनाल्डोले अहिलेसम्म सिरी ए मा १२ गोल गरेका छन् ।
बराबरपछि शीर्ष स्थानको युभेन्टसको १८ खेलबाट ५० अंक भएको छ । इन्टर मिलानसँग १–० ले पराजित भएको दोस्रो स्थानको नापोलीको ४१ अंक छ ।



