काठमाडौं । साउन २६ गते पर्ने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ । साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरि हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो ।
कार्यक्रमअन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ। साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ ।
चन्द्रागिरि हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ । सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४०० रुपैयाँमा उपलब्ध हुनेछ ।
यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरि भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ ।




