निजी क्षेत्र र सरकारको सहकार्यले हजारौंलाई तत्काल रोजगारी दिन सकिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर सहकार्य गरे हजारौं नागरिकलाई तत्काल रोजगारी दिन सकिने बताएका छन् । उनले देशमा रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य रहेकोमा जोड दिए ।

आइतबार काठमाडौंमा आयोजित ‘पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताए । “विगतमा निजी क्षेत्रलाई केवल नाफामूलक र व्यावसायिक गतिविधिमा मात्रै सीमित गरेर हेर्ने परम्परा थियो,” उनले भने, “तर अहिले त्यो धारणा क्रमशः परिवर्तन हुँदै गएको छ र निजी क्षेत्रलाई पनि विकासको अभिन्न अंगका रूपमा स्वीकार्न थालिएको छ, जुन सबैले महसुस गरेको विषय हो ।”

अध्यक्ष ढकालले जबसम्म आम नागरिकमा निजी क्षेत्रप्रति सकारात्मक चासो बढ्दैन, तबसम्म देशले आर्थिक गति लिन नसक्ने तर्क गरे । “रोजगारी सिर्जना गर्ने र पूर्वाधार बढाउने कुरा सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन,” उनले भने, “यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिनु जरुरी छ । यदि सरकारले सहकार्यको वातावरण बनाउने हो भने निजी क्षेत्र हजारौंलाई तत्काल रोजगारी दिन सक्ने अवस्थामा छ । त्यसैले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।”

उनले मुलुकको आर्थिक समृद्धिको यात्रामा निजी क्षेत्रलाई दरिलो खम्बाका रूपमा स्थापित गर्न नीतिगत स्थिरता र लगानीमैत्री वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री