नाइमा एक्स्पोको भव्य सफलता : व्यवस्थापनले जित्यो मन, हजारभन्दा बढी गाडी बुकिङ (फोटो/भिडियो)

काठमाडौं । शनिबारको मुसलधारे वर्षाले राजधानीको सडक अस्तव्यस्त बनाइरहँदा भृकुटीमण्डपभित्र भने ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को रौनकले नयाँ इतिहास रच्दै थियो । विगतमा पानी पर्नेबित्तिकै हिलो र अव्यवस्थाले खल्लो हुने प्रदर्शनीहरूको अनुभव सँगालेका अवलोकनकर्ताहरूका लागि यो पटकको आयोजना नितान्त फरक र उत्कृष्ट रह्यो ।

स्थापनाको पहिलो वर्षमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको यो एक्स्पोले अवलोकनकर्ताको उर्लंदो भीडले व्यवसायीको उत्साह बढेको छ । अवलोकनकर्ताको चापलाई ध्यानमा राख्दै बिहीबारदेखि प्रदर्शनीको समय बिहान ११ बजेदेखि राति ८ बजेसम्म विस्तार गरिएको थियाे ।

विगतका अटो शोहरूमा पानी पर्दा हिलोमा डुब्नुपर्ने बाध्यता भोगेकाहरूका लागि नाइमा एक्स्पोको व्यवस्थापन प्रशंसनीय थियो । ‘यसपटकको अटो शो धेरै व्यवस्थित छ । पानी परेर पनि हामी भिजेनौं,’ अवलोकनकर्ताले आफ्नो अनुभव सुनाए, ‘स्टल छिर्ने बाटोमा कार्पेट, माथि पालको छानो र ठाउँठाउँमा पंखाले गर्दा सहज भयो । विगतको जस्तो हिलोको सामना गर्नुपरेन ।’

आयोजक नाइमाले फराकिला स्टल, हलहरू जोड्ने ढाकिएका बाटा, र हिलोमुक्त परिसर बनाएर आगन्तुकलाई सहजता प्रदान गरेको थियो । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार, ‘यो प्रदर्शनी ह्वीलचेयरमैत्री पनि छ । एकै छानामुनि ५० वटा ब्रान्ड भएको यस्तो व्यवस्थित प्रदर्शनी अहिलेसम्म भएको थिएन ।’

एक्स्पोमा घुमफिर गर्नेभन्दा पनि गाडी किन्ने वा बुझ्ने मनसाय बोकेका ‘गुणस्तरीय ग्राहक’ को उपस्थिति बाक्लो देखिएको व्यवसायीहरू बताउँछन् । लक्ष्मी ई-मोबिलिटीका प्रबन्ध निर्देशक दीपक थपलियाले भने, ‘यसपटकका ग्राहकहरू अध्ययन गरेरै आएका छन्, जसले गर्दा उहाँहरूसँग कुरा गर्न सहज भएको छ ।’

नाइमाका अनुसार एक्स्पोमा एक हजारभन्दा बढी सवारीसाधन बुकिङ भएको अनुमान छ । यद्यपि, आयोजकको मुख्य लक्ष्य बिक्रीको तथ्यांक मात्र नभएर अवलोकनकर्तालाई सुखद अनुभव प्रदान गर्नु रहेको नाइमाका मार्केटिङ तथा मिडिया कन्सल्टेन्ट प्रतीक अर्याल बताउँछन् ।

नयाँ गाडी र आकर्षक अफरले दशैंको माहोल
एक्स्पोमा विभिन्न कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गर्नुका साथै आकर्षक अफरहरू घोषणा गरेर दशैंको माहोललाई अगाडि नै भित्र्याएका छन् । भारतीय मोटरसाइकल ब्रान्ड ‘अल्ट्राभायोलेट’ यही एक्स्पोमार्फत नेपाल भित्रिएको छ भने बीवाईडीको ‘सिगल (एट्टो–१)’ मा ग्राहकको उच्च आकर्षण देखियो । कियाले अधिकतम १० लाख रुपैयाँसम्मको नगद छुट, एमजीले विभिन्न मोडलमा आकर्षक अफर र अन्य कम्पनीहरूले पनि दसैंसम्म लागू हुने गरी विशेष प्याकेजहरू सार्वजनिक गरेका छन् ।

अनेक चुनौतीका बाबजुद नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल क्षेत्रमा व्यवस्थापन, ग्राहक अनुभव र व्यावसायिकताको एक नयाँ मानक स्थापना गरेको छ । यसले शिथिल बनेको अर्थतन्त्रमा सकारात्मक तरंग ल्याउँदै नेपाली अटो बजारमा उत्सवको माहोल सुरु गरिदिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप