एसियाली पावरहाउस उत्तर कोरियाविरुद्ध मैदानमा उत्रँदै नेपाल, जित्नैपर्ने दबाब

काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपाली युवा टोलीले आज एसियाली पावरहाउस उत्तर कोरियाको सामना गर्दैछ । यो खेल नेपालका लागि एसियन कपको ढोका खोल्ने एक मात्र अवसर हो ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने यो खेललाई नेपालको ‘अग्निपरीक्षा’का रूपमा हेरिएको छ । उत्तर कोरियाली टोली केवल एसियन कपको पूर्वविजेता मात्र नभई यू-२० विश्वकप नै जितिसकेको एक अत्यन्तै बलियो प्रतिद्वन्द्वी हो । उत्तर कोरियाले आफ्ना सुरुवाती खेलहरूमा साउदी अरेबियालाई १५-० र आयोजक भुटानलाई १०-० को फराकिलो गोलअन्तरले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको छ ।

यता, नेपाली टोलीले भने प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । पहिलो खेलमा आयोजक भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले पराजित गर्दै छनोटको सम्भावना जीवितै राखेको थियो ।

नेपाली टोलीका लागि यो खेल केवल छनोटका लागि मात्र नभई, एक ऐतिहासिक पृष्ठ पल्टाउने अवसर पनि हो । सन् २००४ मा यही उमेर समूह (तत्कालीन यू-१९) को एसियन कपमा नेपाल उत्तर कोरियासँग १९-० को भारी गोलअन्तरले पराजित भएको थियो । त्यो तीतो हारको १९ वर्षपछि आज नेपाली टोली एक नयाँ आत्मविश्वास र रणनीतिका साथ मैदानमा उत्रँदैछ ।

प्रतियोगिताको नियमअनुसार समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछ भने उत्कृष्ट तीन उपविजेताले पनि अर्को चरणमा स्थान बनाउनेछन् । तर, बलियो गोलअन्तरका कारण नेपाललाई छनोटको सम्भावना बलियो बनाउन आजको खेल जित्नैपर्ने दबाब छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री