नाडा मोबिलिटी एक्स्पोमा सेगवेको नयाँ धमाका: एकैसाथ चार विद्युतीय मोडल सार्वजनिक गरिँदै

काठमाडौँ । नेपाली बजारमा विद्युतीय सवारीको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सेगवे-नाइनबोटले भोलि (साउन २१) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा आफ्ना चार नयाँ विद्युतीय मोडलहरू सार्वजनिक गर्ने भएको छ। सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक, आइहब प्रालिले एक्स्पोमार्फत दुई ई-स्कुटर, एक ई-बाइक र एक ई-साइकल नेपाली उपभोक्तामाझ प्रस्तुत गर्न लागेको हो।

साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) चल्ने यस वर्षको मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेगवेका यी नयाँ उत्पादनहरू प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार, नयाँ मोडलहरू शहरी दैनिकी, जीवनशैली र वातावरणमैत्री यात्रा जस्ता विभिन्न आवश्यकताहरूलाई पूरा गर्ने गरी डिजाइन गरिएका छन्।

के छन् नयाँ मोडलमा विशेषता?

सार्वजनिक हुन लागेका चार मोडलहरूमा शक्तिशाली प्रदर्शनदेखि दैनिक उपयोगितासम्मका विशेषताहरू समेटिएका छन्:

१. सेगवे E150 M2 (ई-स्कुटर): यसमा ७५०० वाटको शक्तिशाली मोटर र दुईवटा १४९९ वाट-आवर क्षमताका ब्याट्री जडान गरिएको छ। यसले अधिकतम ९० किमि/घण्टाको गति दिन सक्छ भने एक पटकको चार्जमा ७५ देखि १२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ।

२. सेगवे E125 M2 (ई-स्कुटर): ३६०० वाटको मोटर र १४९९ वाट-आवरको ब्याट्री रहेको यो स्कुटरले ७० किमि/घण्टाको अधिकतम गति र ६० देखि १०० किलोमिटरसम्मको रेन्ज दिन्छ।

३. सेगवे जाइबर (Xyber) ई-बाइक: दैनिक यात्रा र हल्का साहसिक यात्रा दुवैका लागि उपयुक्त मानिएको यो ई-बाइकमा ३००० वाटको हब मोटर र १४४० वाट-आवरको लिथियम ब्याट्री छ। यसले अधिकतम ३२ किमि/घण्टाको गतिमा ७७ किलोमिटरसम्मको यात्रा तय गर्न सक्छ।

४. सेगवे जाफारी (Xafari) ई-साइकल: दैनिक प्रयोजनका लागि अत्यन्त उपयोगी मानिएको यो ई-साइकलमा ७५० वाटको मोटर र ९३६ वाट-आवरको ब्याट्री छ। यसले ३२ किमि/घण्टाको गतिमा ५८ किलोमिटरसम्मको रेन्ज दिन्छ। साथै, पछाडिपट्टि २५ केजीसम्म सामान बोक्न मिल्ने क्यारियरले यसलाई थप व्यावहारिक बनाएको छ।

यी चार मोडलको सार्वजनिक प्रदर्शनसँगै नेपाली बजारमा सेगवेको विद्युतीय सवारी साधनको उपस्थिति अझ बलियो हुने विश्वास गरिएको छ। कम्पनीले यी उत्पादनहरूले नेपाली यात्रीहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्पहरू प्रदान गर्ने जनाएको छ। यी मोडलहरूको आधिकारिक मूल्य र बजारमा उपलब्धतासम्बन्धी जानकारी एक्स्पोको क्रममा सार्वजनिक गरिने कम्पनीले बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री