माछापुच्छ्रे बैंकको नाफामा झन्डै शतप्रतिशतको उछाल, खुद मुनाफा २ अर्ब नाघ्यो

काठमाडौँ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो मुनाफामा झन्डै शतप्रतिशतको वृद्धि गर्दै २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको १ अर्ब ४ करोड रुपैयाँको तुलनामा गत वर्ष नाफा ९७ करोड रुपैयाँले बढेको हो।

बैंकको नाफामा आएको यो उछालमा गैर-बैंकिङ सम्पत्ति लिलामीपछि फिर्ता भएको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) को ठूलो योगदान रहेको छ। बैंकले यस वर्ष प्रोभिजनबाट ४६ करोड रुपैयाँ फिर्ता ल्याएको छ भने इम्पेरिमेन्ट चार्ज पनि २५ करोड रुपैयाँले सकारात्मक देखिएको छ, जसको प्रत्यक्ष असर नाफामा परेको हो।

यसका साथै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोडबाट बढेर ५ अर्ब ७५ करोड पुगेको छ भने सञ्चालन मुनाफा १ अर्ब ६६ करोडबाट दोब्बरभन्दा बढीले बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

नाफामा भएको वृद्धिसँगै बैंकको वितरणयोग्य मुनाफा पनि १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले आफ्ना सेयरधनीहरूलाई प्रतिकित्ता ९ रुपैयाँ २३ पैसासम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

समग्र बैंकिङ क्षेत्र खराब कर्जाको दबाबमा रहिरहेका बेला माछापुच्छ्रे बैंकले भने यसमा सामान्य सुधार गरेको छ। अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा दर घटेर ३.८३ प्रतिशतमा सीमित भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री