भदौ ३ देखि नाडा अटो सो: यसपटक रोबोट, भिन्टेज कार र ड्रोन मुख्य आकर्षण (भिडियो)

  • ‘गो फर मोर’ नारासहित हालसम्मकै भव्य हुने आयोजकको दाबी, १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने

काठमाडौँ । नेपाली अटोमोबाइल जगतको सबैभन्दा ठूलो र प्रतीक्षित मेला, १७औँ संस्करणको नाडा अटो सो, २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यस वर्षको प्रदर्शनी हालसम्मकै सबैभन्दा भव्य र नवीन प्रविधिले भरिपूर्ण हुने आयोजकले दाबी गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको प्रदर्शनीले दर्शकलाई नयाँ अनुभव दिने बताए। ‘गो फर मोर’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी र अटो उद्योगका समग्र पक्षलाई एउटै छानामुनि प्रस्तुत गर्ने लक्ष्य राखेको छ। शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम तय भएको छ।

के छन् यसपटकका आकर्षण?

यस वर्षको प्रदर्शनीमा परम्परागत सवारीसाधनका साथै भविष्यमुखी प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।

  • रोबोट र ड्रोन: कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित चार खुट्टाले हिँड्ने युनिट्री रोबोट्स र डिपल ईभीटोल यूएभी (ड्रोन) को प्रदर्शनीले अवलोकनकर्तालाई नयाँ प्रविधिको अनुभव गराउनेछ।

  • भिन्टेज मोटर शो: पुराना र क्लासिक गाडीका पारखीहरूका लागि भिन्टेज मोटर शो विशेष आकर्षण बन्नेछ। जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, भीडब्ल्यू बसजस्ता ऐतिहासिक र दुर्लभ गाडीहरू प्रदर्शनमा राखिनेछन्।

  • मेड इन नेपाल प्याभिलियन: स्वदेशमै निर्मित सवारीसाधन तथा अटो पार्ट्सलाई प्रोत्साहन गर्न छुट्टै ‘मेड इन नेपाल’ प्याभिलियनको व्यवस्था गरिनेछ।

बृहत् सहभागिताको अपेक्षा

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्। जसमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक सवारी, चारवटा दुईपांग्रे सवारी ब्रान्डका साथै ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट र वित्तीय सेवाप्रदायक कम्पनीहरू रहनेछन्।

६ दिनसम्म चल्ने प्रदर्शनीमा एक लाखभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको छ। अवलोकनकर्ताको सुविधाका लागि खल्ती एपमार्फत अग्रिम टिकट काट्ने व्यवस्था मिलाइएको छ, जसमा भदौ २ गतेसम्म टिकट काट्दा २० प्रतिशत क्यासब्याकको सुविधासमेत रहेको छ।

कार्यक्रमलाई सफल बनाउन युनिट्रीले टाइटल प्रायोजन गरेको छ भने शिखर इन्स्योरेन्स सह-प्रायोजक रहेको छ। साथै, यांगो, क्याम्पा कोला, वर्ल्डलिंक लगायतका प्रतिष्ठित संस्थाहरूले पनि सहकार्य गरेका छन्।

नाडाका अध्यक्ष चौधरीले भने, “१६ संस्करणको सफल इतिहास र लाखौँ दर्शकको विश्वासले नाडा अटो सो नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी बनेको छ। यस वर्षको संस्करणले अटो उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय थप्नेछ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री