जनकपुरधाम । लामो समयदेखिको खडेरी र सुख्खाका कारण खानेपानीको चरम अभाव झेलिरहेको धनुषा जिल्लाका बासिन्दाका लागि राहतको खबर आएको छ। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मर्मत सम्भारको अभावमा वर्षौंदेखि बन्द रहेका दुई महत्वपूर्ण खानेपानी आयोजनाहरूको स्थलगत निरीक्षण गरी तत्काल सञ्चालनमा ल्याउन कडा निर्देशन दिएका छन्।
मन्त्री यादव नेतृत्वको प्राविधिक टोलीले जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरमा रहेको अर्को आयोजनाको अवस्थाबारे जानकारी लिएको हो। निरीक्षणपछि मन्त्री यादवले खानेपानी डिभिजन कार्यालय, महोत्तरीलाई कुनै पनि ढिलाइ नगरी आयोजनाहरू सुचारु गर्न निर्देशन दिएका छन्। मधेश प्रदेशका अधिकांश जिल्लाहरू खडेरीको चपेटामा परेका बेला मन्त्रीको यो कदमलाई महत्वपूर्ण मानिएको छ।
“जनताले खानेपानीको चरम अभाव खेप्नु परिरहेको बेला बन्द रहेका आयोजना तुरुन्त सञ्चालनमा ल्याउनु आवश्यक छ,” मन्त्री यादवले भने, “बजेट अहिले कार्यान्वयन नभएपनि मन्त्रालयको आन्तरिक श्रोत साधनले मर्मत सम्भार गरी तत्काल संचालनमा ल्याई जनतालाई समयमै पानी खुवाउने प्रयासमा हामी जुटेका छौं।”
टोलीमा सहभागी खानेपानी डिभिजन कार्यालय, महोत्तरीका प्रमुख इन्जिनियर सञ्जीव साहका अनुसार दुवै आयोजनामा सामान्य मर्मत र पाइपलाइन विस्तार गरे तत्काल पानी सञ्चालन गर्न सकिने अवस्था छ। उनका अनुसार महेन्द्रनगर आयोजनामा पाइपलाइन मर्मत तथा विद्युत महसुलको बक्यौता भुक्तानी गर्नुपर्ने छ भने विश्रामपुर आयोजनामा बोरिङ र पाइप जडान गरेपछि सञ्चालनमा आउनेछ।
“यी दुवै आयोजना पूर्णरुपमा सम्पन्न गर्न करिब ४ देखि ५ करोड लागत लाग्ने अनुमान भए पनि, हामी तत्काल मर्मत सम्भार गरी संचालन गर्ने तयारीमा छौं,” प्रमुख साहले बताए।
विगत केही समयदेखि प्रचण्ड गर्मी र वर्षाको कमीले धनुषाका उत्तरी तथा पूर्वी भेगका दर्जनौं गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। भूमिगत पानीको स्रोत सुक्दै जाँदा इनार, बोरिङ र चापाकलहरूमा पानी आउन छाडेको छ, जसले गर्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। यस्तो संकटको अवस्थामा बन्द आयोजनाहरू सञ्चालनमा आउँदा हजारौं नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
निरीक्षण टोलीमा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव, सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिहरू तथा अन्य नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता थियो।




