पूर्वाधारमा लगानी गर्ने कम्पनीले ३० करोडको आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज नियुक्त

काठमाडौं। नेपालको पूर्वाधार क्षेत्रमा लगानी केन्द्रित गरिरहेको नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेड (NIIF) ले सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि फण्डले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

मंगलबार आयोजित एक कार्यक्रममा फण्डका तर्फबाट अध्यक्ष डा. मनिष थापा र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले आईपीओ निष्कासन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार, फण्डले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ।

कस्तो कम्पनी हो NIIF ?

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड एक स्थायी पुँजी लगानी कोष हो, जसले देशको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण मानिने क्षेत्रहरूमा लगानी गर्दछ। यसको व्यवस्थापन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त पहिलो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक, ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ।

फण्डले हालसम्म स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता उच्च सम्भावना भएका क्षेत्रमा सञ्चालित कम्पनीहरूमा पुँजी परिचालन गरिसकेको छ।

को-को छन् प्रवर्द्धक ?

यस फण्डलाई नेपालका अग्रणी बीमा कम्पनीहरू जस्तै हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले प्रवर्द्धन गरेका छन्। साथै, देशका प्रतिष्ठित व्यवसायीहरू राजेन्द्र खेतान र वसन्त चौधरी पनि यसका मुख्य प्रवर्द्धक हुन्।

बलियो संस्थागत र व्यावसायिक प्रवर्द्धकहरूको लगानी रहेको तथा पूर्वाधारजस्तो महत्वपूर्ण क्षेत्रमा केन्द्रित भएकाले यस कम्पनीको आईपीओलाई सर्वसाधारणले चासोका साथ हेरेका छन्। यो आईपीओले सर्वसाधारण लगानीकर्तालाई नेपालको पूर्वाधार विकास यात्रामा प्रत्यक्ष रूपमा साझेदार बन्ने अवसर प्रदान गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री