नेपाल सेरामिक इन्डस्ट्रीको चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा

काठमाडौं । नेपाली टाइल्स बजारमा सशक्त उपस्थिति जनाउँदै आएको नेपाल सेरामिक इन्डस्ट्री प्रा.लि. ले आफ्नो चौथो वार्षिक साधारण सभा विदेशमा आयोजना गर्न लागेको छ। कम्पनीले यो सभा थाइल्यान्डमा आयोजना गर्न लागेको हो, जुन नेपाली टाइल्स उद्योगमा ऐतिहासिक र प्रेरणादायी घटनाका रूपमा हेरिएको छ।

नेपोभिट टाइल्स ब्रान्डमार्फत देशभर गुणस्तरीय टाइल्स उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले छोटो समयमै नेपाली निर्माण सामग्री बजारमा विशिष्ट स्थान बनाएको छ। कम्पनीका अनुसार गुणस्तर, सेवा, नवप्रवर्तन र ग्राहक सन्तुष्टिमा केन्द्रित रहेर आफूले निरन्तर सुधारको यात्रा तय गर्दै आएको हो।

विगत चार वर्षको यात्रा सहज नभए पनि कम्पनीले विभिन्न आर्थिक, प्राविधिक तथा बजार चुनौतीहरूमाझ पनि आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ। कम्पनीले चालु आर्थिक वर्षमा निर्धारण गरेको बिक्री लक्ष्य पूर्ण रूपमा हासिल गरेपछि बिक्री टोलीको सम्मानस्वरूप यो अन्तर्राष्ट्रिय भ्रमण तय गरिएको हो।

कम्पनीका एक प्रवक्ताका अनुसार, “यो भ्रमण केवल पुरस्कार मात्र नभई भविष्यका महत्त्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्न हाम्रो टिमलाई थप प्रेरित र ऊर्जाशील बनाउने उद्देश्य बोकेको छ।”

आगामी दिनमा अझ बढी उत्पादन लक्ष्य, वितरण सञ्जाल विस्तार र सेवा प्रवर्द्धन गर्ने योजनाका साथ कम्पनी अघि बढ्दैछ। थाइल्यान्ड भ्रमणमार्फत टोलीबीचको सहकार्य, प्रतिबद्धता र नवीन कार्यशैलीलाई अझ सुदृढ बनाउने आशा गरिएको छ।

नेपालमा पहिलोपटक टाइल्स कम्पनीले विदेशमा वार्षिक सभा गर्ने निर्णयले नेपाली उद्योग क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको विज्ञहरू बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री