भृकुटीमण्डपमा साउन २१ देखि ‘नाइमा मोबिलिटी एक्स्पो’, दर्जनौं नयाँ गाडी सार्वजनिक हुँदै

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा लामो समयदेखि स्थापित ‘नाडा अटो शो’ को एकाधिकार तोड्दै नयाँ संगठनले छुट्टै र बृहत् एक्स्पोको घोषणा गरेको छ। हालै गठन भएको ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चर्स एसोसिएसन’ (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने घोषणा गरेसँगै अटोमोबाइल क्षेत्रमा नयाँ तरंग सिर्जना भएको छ।

यसअघि नाडा अटो शोमा सँगै काम गर्दै आएका अधिकांश व्यवसायीहरूले यसपटक नाइमा गठन गरी यो एक्स्पो आयोजना गर्न लागेका हुन्। एक्स्पोमा ५० भन्दा बढी प्रतिष्ठित ब्राण्डहरूको सहभागिता रहनेछ, जसका लागि ४८ वटा स्टल तयार पारिएको छ। यसमा चार पाङ्ग्रेका २१, दुई पाङ्ग्रेका १७ र व्यावसायिक सवारी साधनका ७ वटा स्टल रहनेछन्। एक्स्पोले विद्युतीय (ईभी), हाइब्रिड र पेट्रोल/डिजेल सबै प्रकारका सवारीलाई एउटै छानामुनि प्रस्तुत गर्नेछ।

एक्स्पोका संयोजक शिरिष मुरारकाका अनुसार आगन्तुक र सहभागी दुवैलाई सहज हुने गरी व्यवस्थित योजना बनाइएको छ। “आगन्तुकले एक्स्पो स्थलभित्र प्रवेश गरेपछि कुनै पनि स्टल नछुटाई सबै ब्राण्डको अवलोकन गर्न सक्ने गरी सहज रुट प्लानिङ गरिएको छ,” मुरारकाले भने, “पार्किङदेखि अन्य व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिइएको छ।”

एक्स्पोका प्रमुख आकर्षण: कुन ब्राण्डले के ल्याउँदैछ?

यो एक्स्पो विशेषगरी दुईपाङ्ग्रे सवारीका नयाँ र प्रतीक्षित मोडलहरूले भरिपूर्ण हुने देखिएको छ:

  • पेट्रोलबाट ईभीसम्म: सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो सर्वाधिक चर्चित स्कुटर ‘एक्सेस’ को अपग्रेडेड पेट्रोल भर्सनका साथै सोही मोडलको विद्युतीय (ईभी) संस्करण पनि एकैपटक सार्वजनिक गर्दैछ, जसले उपभोक्तालाई नयाँ अनुभव दिनेछ।

  • ईभीको नयाँ भीड: विद्युतीय स्कुटर बजारमा सेगवे-नाइनबटले दुई नयाँ मोडल ल्याउँदैछ भने कुजु नेपालले उच्च गतिको ‘याडिया किननेस’ ईभी बाइक ल्याउनेछ। यस्तै, दुगड ब्रदर्शले ‘रिभोल्ट’ को २०२५ अपडेटेड मोडल र ऋषी ट्रेड सेन्टरले ‘जीहो ईभी’ को नयाँ मोडल प्रदर्शन गर्नेछन्।

  • चर्चित बाइकका नयाँ अवतार: केटीएमको आधिकारिक बिक्रेता हंशराज हुलाशचन्दले नेपालमा पहिलो पटक केटीएम एड्भेन्चर र ड्युक को नयाँ भर्सन सार्वजनिक गर्ने भएको छ। त्यसैगरी, जगदम्बा मोटर्सले लोकप्रिय ‘एन्टर्क’ स्कुटरको नयाँ भर्सन विशेष रणनीतिका साथ प्रस्तुत गर्नेछ।

  • नेपालमा डेब्यू: भारतको सर्वाधिक बिक्री हुने ईभी ब्राण्ड ‘एथर’ को नयाँ पारिवारिक स्कुटर ‘एथर रिज्ता’ ले यही एक्स्पोमार्फत नेपालमा औपचारिक डेब्यू गर्दैछ।

  • स्पोर्ट्स बाइकका पारखीका लागि: बनेलीको आधिकारिक बिक्रेताले ‘मोर्बिडेली’ ब्राण्ड अन्तर्गत २५० र ३५२ सीसीका दुई नयाँ स्पोर्ट बाइक प्रस्तुत गर्नेछ।

यी बाहेक महिन्द्रा, होण्डा, रोयल इन्फिल्ड, बजाज, गोगोरो, नियो लगायतका दर्जनौं चर्चित ब्राण्डहरूको सहभागिताले ‘नाइमा मोबिलिटी एक्स्पो’ वर्षकै सबैभन्दा ठूलो अटोमोबाइल जमघट बन्ने निश्चित देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री