प्रधानमन्त्री ओलीको निर्देशन: ‘दसौँ राष्ट्रिय खेलकुदमा अब ढिलाइ सहन्नँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुदको महाकुम्भ, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।  उनले प्रतियोगिताको तयारीमा कुनै ढिलासुस्ती वा लापरवाही नगर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई सचेत गराएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुदलाई देशको प्रतिष्ठा र इज्जतसँग जोड्दै यसको तयारीलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए । आगामी सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुद (एसियाड) को तयारीसँग जोड्दै प्रधानमन्त्रीले यस प्रतियोगितालाई हल्का रूपमा नलिन सचेत गराए । ‘राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल हो, यसको भव्य तयारी हुनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘एसियन गेमको पूर्वसन्ध्यामा हुने यो प्रतियोगिताले खेलाडीको क्षमता र हाम्रो व्यवस्थापकीय कौशल दुवै देखाउनेछ ।’

उनले प्रतियोगिताको मिति र स्थान गहन अध्ययन गरेर मात्र टुङ्गो लगाउन र एकपटक निर्णय भइसकेपछि कुनै पनि हालतमा परिवर्तन नगर्न स्पष्ट निर्देशन दिए । राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो कार्यालय, खेलकुद मन्त्रालय र परिषद्बीच उचित समन्वय कायम राख्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य-सचिव टङ्कलाल घिसिङ लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री