काठमाडौं । गोर्खा ब्रुअरीले उत्तरदायी मद्यपान र सुरक्षित यात्राको सन्देश फैलाउने उद्देश्यका साथ राइड–हेलिङ सेवा प्रदायक पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ नामक सामाजिक अभियान सुरु गरेको छ।
सामाजिक जमघट, विशेषतः रात्रिकालीन स्थलहरूमा हुने मद्यपानपछि यात्राको क्रममा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न यो अभियानले ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध सचेतना जगाउने छ। प्रयोगकर्ताहरूलाई मद्यपान पश्चात निजी सवारी चलाउने साटो पठाओजस्ता सेवाको प्रयोग गर्न प्रेरित गर्दै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य यस अभियानले लिएको छ।
गोर्खा ब्रुअरीको वातावरणीय, सामाजिक उत्तरदायित्व र सुशासनसम्बन्धी पहल ‘टुगेदर टुवार्डस् जिरो एण्ड बियोन्ड’ अन्तर्गत सुरु गरिएको यस अभियानले ‘जिरो इरेस्पोन्सिबल ड्रिङ्किङ’ भन्ने लक्ष्यलाई सम्बोधन गरेको छ।
गोर्खा ब्रुअरीका बजार निर्देशक रोजन अमात्यले भने, ‘यो अभियान केवल सन्देश हैन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो। सामाजिक उत्तरदायित्व प्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकरात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो।’
अभियानको प्रारम्भिक चरण काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिनेछ। पठाओको डेटा–आधारित संचार संयन्त्रमार्फत मनोरञ्जनस्थलहरू तथा सामाजिक जमघट हुने क्षेत्रहरूमा लक्षित सन्देशहरू प्रवाह गरिनेछ। यसबाट जिम्मेवार मद्यपानप्रतिको जनचेतनामा प्रभावकारी वृद्धि हुने अपेक्षा गरिएको छ।
नेपालमा ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबीच जिम्मेवार मद्यपान प्रवर्द्धनका लागि गरिएको यो पहिलो सहकार्य हो। यसले उद्देश्य–केन्द्रित सहकार्यमार्फत सामाजिक रूपान्तरण सम्भव छ भन्ने सन्देश दिएको छ ।



