नेपाली प्रतिभाको विश्वव्यापी सम्मानः डा. शम्भु पोखरेल युरोपको प्रतिष्ठित ‘टेस्ला’ समूहको अध्यक्षमा नियुक्त

काठमाडौँ । नेपाली व्यावसायिक जगतका लागि एक ऐतिहासिक र गौरवपूर्ण उपलब्धि हासिल भएको छ । विश्वव्यापी रूपमा आफ्नो व्यावसायिक सञ्जाल विस्तार गरेको ‘सीईओ क्लब ग्लोबल’ का ग्लोबल सीईओ, डा. शम्भु पोखरेल, युरोपको प्रतिष्ठित प्रविधि कम्पनी ‘टेस्ला समूह’ को अध्यक्ष पदमा नियुक्त भएका छन् । 

लन्डनमा मुख्यालय रहेको सीईओ क्लब ग्लोबलको लन्डन च्याप्टरले चेक गणराज्यमा अवस्थित टेस्ला समूह युरोपको ८५ प्रतिशत स्वामित्व खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै डा. पोखरेललाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो । यो अधिग्रहणपछि टेस्लाका सम्पूर्ण सञ्चालन, लगानी व्यवस्थापन र अन्तर्राष्ट्रिय विस्तारको नेतृत्व नवनिर्मित बेलायतस्थित होल्डिङ कम्पनी ‘टेस्ला इनर्जी युरोप लिमिटेड’ ले गर्नेछ ।

आफ्नो नियुक्तिपछि डा. पोखरेलले यो केवल एक व्यावसायिक सम्झौता नभई नेपाली प्रतिभाको विश्वव्यापी सम्मान भएको बताए । ‘यो नेपाली प्रतिभाको विश्वव्यापी पहिचान हो,’ उनले भने, ‘हाम्रो साझा लक्ष्य अब टेस्ला समूहलाई अर्बौं डलरको गिगाफ्याक्ट्री र विश्वव्यापी आविष्कारको केन्द्रको रूपमा विकास गर्नु हो ।’

प्रागमा मुख्यालय रहेको टेस्ला समूह युरोपको सबैभन्दा पुरानो र सम्मानित प्रविधिमा आधारित कम्पनीहरू मध्ये एक हो । सन् १९४६ मा स्थापना भएको यस कम्पनीको ऊर्जा, अटोमेसन, इलेक्ट्रोनिक्स र औद्योगिक नवप्रवर्तनको क्षेत्रमा लामो र महत्वपूर्ण इतिहास छ । कम्पनीको गिगाफ्याक्ट्री स्लोभाकियामा अवस्थित छ । रोचक तथ्य त यो छ कि यस कम्पनीले विश्वप्रसिद्ध अर्बपति एलन मस्कलाई ‘टेस्ला’ ट्रेडमार्क प्रयोग गर्न अनुमति दिएको थियो ।

पूर्व सञ्चारकर्मीसमेत रहेका डा. पोखरेल व्यवस्थापन क्षेत्रमा एक कुशल ‘इनोभेसन एक्टिभिस्ट’ का रूपमा पनि चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, स्टार्टअप इकोसिस्टम र ब्रान्ड निर्माण जस्ता विषयमा विशेष दख्खल राख्छन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री