-
मेडिकल टुरिजम प्रवर्द्धनमा दन्त उपचारलाई व्यवस्थित गर्न मन्त्री पौडेलको जोड
काठमाडौं । समाज डेन्टलले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा गरिब तथा विपन्न नागरिकका लागि १ करोड रुपैयाँ बराबरको उपचार कोष घोषणा गरेको छ। गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने लक्ष्यका साथ कोष स्थापना गरिएको अस्पतालले जनाएको छ।
आइतबार आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले संस्था विभिन्न आरोहअवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनका अनुसार वि.सं. २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानबाट सेवा दिइरहेको छ।
“हाम्रो लक्ष्य देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्नु हो,” प्रबन्ध निर्देशक घिमिरेले भने, “यसै अभियान अन्तर्गत स्थापना गरिएको १ करोड रुपैयाँ बराबरको उपचार कोषबाट गरिब तथा विपन्न नागरिकको दन्त उपचारमा सहयोग गरिनेछ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिए। उनले मेडिकल टुरिजमलाई आकर्षित गर्न आँखा र दाँत उपचारको विश्वसनीयता अझ बढाउनुपर्ने खाँचो औंल्याए।
यस्तै, नेपाली काँग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताए। दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना जगाउने, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संस्था स्थापना भएको उनले उल्लेख गरे ।




