रास्वपाले सार्वजनिक गर्‍यो उम्मेदवार छनोट कार्यविधि, प्रहरी रिपोर्ट अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनहरूका लागि उम्मेदवार छनोट सम्बन्धी एक विस्तृत एवं परिमार्जित कार्यविधि सार्वजनिक गरेको छ । आसन्न रुपन्देही-३ को उपनिर्वाचनलाई प्रस्थानविन्दु मान्दै ल्याइएको यो नयाँ व्यवस्थाले उम्मेदवार हुनका लागि विभिन्न योग्यताका साथै मूल्यांकनका नयाँ आधारहरू तय गरेको छ । पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको समितिले तयार पारेको यो कार्यविधिलाई गत असार २५ गते बसेको पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको हो ।

कार्यविधिले उम्मेदवार बन्न चाहने व्यक्ति प्रचलित कानुनबमोजिम योग्य हुनुपर्ने व्यवस्था गरेको छ । साथै, पार्टीको मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रही अन्य कुनै राजनीतिक दलमा आबद्ध नरहेको हुनुपर्ने शर्त राखिएको छ । उम्मेदवारले पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

नैतिकता र शुद्ध आचरणलाई विशेष जोड दिँदै कार्यविधिले असल चालचलन रहेको प्रमाणित हुने प्रहरी रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, अपहरण र हत्याजस्ता गम्भीर फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति मात्र उम्मेदवारका लागि योग्य मानिनेछ । अन्य कुनै फौजदारी कसुरमा सजाय पाएको भए पनि सजाय भुक्तान गरेको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ। 

पारित कार्यविधिअनुसार अब उम्मेदवार छनोट केवल प्रारम्भिक निर्वाचनमा निर्भर रहने छैन। यसलाई थप वस्तुनिष्ठ र पारदर्शी बनाउन विभिन्न पक्षलाई समेटेर अंकभार निर्धारण गरिएको छ । नयाँ व्यवस्था अनुसार, प्रारम्भिक निर्वाचनको नतिजालाई ५० प्रतिशत अंकभार दिइएको छ । यसका अतिरिक्त, ‘लिडरसिप एकेडेमी’को मूल्यांकनलाई २५ प्रतिशत, पार्टी गतिविधिमा संलग्नता हेरिने ‘पोलिटिकल प्रोक्सिमिटी’लाई २० प्रतिशत र समावेशितालाई ५ प्रतिशत अंकभार छुट्याइएको छ । पार्टी प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकार्यता, व्यक्तित्व र क्षमतालाई प्राथमिकता दिइने बताएका छन् ।

आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट यो नयाँ कार्यविधि कार्यान्वयनमा आउनेछ । सहमहामन्त्री आचार्यले रुपन्देहीलाई प्रस्थानबिन्दु बनाएर यो कार्यविधि पारित गरिएको र यसले पार्टी गतिविधिमा सक्रिय, क्षमतावान तथा जनताप्रति उत्तरदायी व्यक्तिलाई अवसर दिने बताएका छन् । पार्टीले एक साताभित्रै उम्मेदवार छनोटको विस्तृत तालिका सार्वजनिक गर्ने जनाएको छ ।

रुपन्देही-३ मा राप्रपाका दीपक बोहराको निधनपछि रिक्त भएको स्थानमा उपचुनाव हुन लागेको हो । यस उपचुनावका लागि रास्वपाले सहमहामन्त्री विपिनकुमार आचार्यलाई नै निर्वाचन कमान्डर तोकेको छ । पार्टीले छिट्टै इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र यही कार्यविधिअनुसार मूल्यांकन गरेर उम्मेदवारको टुंगो लगाउने बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री