मोडर्न कलेजमा भानु-स्मृति: स्रष्टाहरूको भव्य जमघट

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा नयाँ बानेश्वरस्थित मोडर्न कन्या कलेज साहित्यको सुगन्धले मगमग भएको छ । एक विशेष समारोहमा वरिष्ठदेखि उदीयमान स्रष्टाहरूले कविता र विचारको माध्यमबाट आदिकविलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

कलेजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यका विशिष्ट साधक, वरिष्ठ कवि शैलेन्द्र साकार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गरियो ।

कार्यक्रमको मुख्य आकर्षण कविता वाचन रहेको थियो । प्रमुख अतिथि साकारका साथै वरिष्ठ कविहरू ठाकुर शर्मा, कृष्ण बाउसे, रन्जना निरौला, निर्मल पराजुली, ज्ञानेन्द्र भट्टराई, विजयध्वज थापा, मुकुन्दराज दाहाल, सुवास पाण्डे, कोपिला कोइराला लगायतले आफ्ना शक्तिशाली सिर्जनाहरू प्रस्तुत गर्दा सभाहल तालीले गुञ्जायमान भएको थियो ।

उनीहरूले भानुभक्तको साहित्यिक चेतना र सामाजिक सुधारको भावनालाई आफ्ना कवितामार्फत जीवन्त बनाएका थिए । साथै, कलेजमा अध्ययनरत छात्रा कविहरू पूजा लामिछाने, जमुना बस्नेत, गङ्गा केसी, रेनुका कडेल र कल्पना कटुवालले पनि आफ्ना सिर्जना प्रस्तुत गर्दै नयाँ पुस्तामा साहित्यप्रतिको अनुराग जीवितै रहेको सन्देश दिए ।

समारोहमा भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि गहिरो विमर्श पनि गरिएको थियो । वरिष्ठ साहित्यकार रामप्रसाद पन्त र कलाधर काफ्लेले भानुभक्तले कसरी रामायणमार्फत नेपाली समाजलाई भाषिक र सांस्कृतिक रूपमा एकताबद्ध गरे भन्ने विषयमा प्रकाश पार्नुभयो । त्यसैगरी, वरिष्ठ पत्रकार कल्पना शर्मा र बेञ्जु सरोजले भानुभक्तको सामाजिक सान्दर्भिकतामाथि चर्चा गर्नुभयो ।

आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि शैलेन्द्र साकारले भन्नुभयो, “भानुभक्त केवल आदिकवि मात्र होइनन्, उनी नेपाली भाषा र जातीय एकताका सूत्रधार हुन् । उनका सिर्जना आज पनि उत्तिकै सान्दर्भिक छन् र नयाँ पुस्ताले उनको अध्ययन गर्न जरुरी छ ।”

कार्यक्रमका सभापति डा. रामप्रसाद दाहालले नयाँ पुस्तालाई आफ्नो भाषा, साहित्य र संस्कृतिको महत्व बुझाउन यस्ता कार्यक्रमले पुलको काम गर्ने बताउनुभयो । कलेजका प्रिन्सिपल सविन पोख्रेलले धन्यवाद ज्ञापन गर्दै कलेजले सधैँ प्राज्ञिक उन्नयनका साथै साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री