महिला नेतृत्व सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- समृद्धिका लागि सहकार्य गरौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमशीलताको विकासबिना मुलुकको समृद्धि असम्भव रहेको बताउँदै सरकार, युवा र महिला उद्यमीहरूबीचको सहकार्यमा जोड दिनुभएको छ । महिला उद्यमी महासङ्घ, नेपालको आयोजना तथा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२’ को मंगलबार एक विशेष समारोहबीच उद्घाटन गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सबै पक्ष एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ ।” यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता निर्धारण र कार्यान्वयनमा महत्वपूर्ण सघाउ पुर्‍याउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

महिला सशक्तीकरणका लागि सरकारले नीतिगत र व्यवहारिक दुवै तहमा काम गरिरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ । तीनै तहमा कम्तीमा ३३ प्रतिशत महिला जनप्रतिनिधि सुनिश्चित गरिएको छ ।”

उहाँले शिक्षा क्षेत्रमा भएको प्रगतितर्फ सङ्केत गर्दै विद्यालयमा छात्राहरूको सङ्ख्या बढ्नु र उनीहरूले नतिजामा समेत उत्कृष्ट प्रदर्शन गर्नु सकारात्मक उपलब्धि भएको बताउनुभयो । “यद्यपि, हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ,” उहाँले थप्नुभयो ।

कार्यक्रममा महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा महिला उद्यमशीलताको प्रवर्द्धन र विकासका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सम्मेलनले महिला उद्यमीहरूलाई नयाँ ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्न मद्दत गर्ने विश्वास व्यक्त गरियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप