काठमाडौं । राजधानीको शैक्षिक क्षेत्रमा तीन दशकदेखि आफ्नो गरिमामय उपस्थिति जनाउँदै आएको चाबहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले ‘बेष्ट प्लस टु अवार्ड’को सम्मान प्राप्त गरेको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.द्वारा आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ समारोहमा एकेडेमीलाई यस प्रतिष्ठित सम्मानबाट विभूषित गरिएको हो । यो सम्मानले प्लस टु तहमा एकेडेमीले प्रदान गर्दै आएको शैक्षिक उत्कृष्टता र गुणस्तरलाई प्रमाणित गरेको छ ।
स्थापनाको तीन दशक लामो यात्रामा रिलायन्सले आफूलाई एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गरिसकेको छ । विद्यालय तहदेखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस एकेडेमीले हजारौँ विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
एकेडेमीले ‘किताबी ज्ञान मात्र नभई, व्यावहारिक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरेको छ । यही मान्यताका साथ यसले आफ्ना विद्यार्थीहरूलाई एक जिम्मेवार, अनुशासित र असल नागरिक बन्न निरन्तर प्रेरित गर्दै आएको छ ।
प्रविधिमैत्री कक्षाकोठा, विद्यार्थीकेन्द्रित रचनात्मक पठनपाठन, र प्रेरणादायी शैक्षिक वातावरण रिलायन्सका मुख्य विशेषता हुन् । यिनै आकर्षणले गर्दा रिलायन्स शैक्षिक क्षेत्रमा एक विश्वसनीय र लोकप्रिय नाम बन्न सफल भएको एकेडेमीको दाबी छ ।



