ओलीका सल्लाहकारलाई नारायणकाजीको प्रश्न- तपाईं परमेश्वरको प्रतिनिधि हो ?

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप जारी छ। शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति बिनम्र हुनै सकिँदैन भन्नुभयो, त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि हुँ भन्ने ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न। के तपाईंले आफूलाई त्यस्तै ठान्नु भएको छ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिष्टहरुको होइन र हुनै सक्दैन।’

सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिए । श्रेष्ठले रिमालको वैचारिक स्तर र सोचमाथि नै प्रश्न उठाए ।

कम्युनिस्ट समाजवादीहरूले रूपान्तरणको दिशामा अघि बढ्न पहिला आत्मालोचनाबाट सुरु गर्दै, अरूको पनि आलोचना सुन्ने र परिमार्जनका लागि शुद्धीकरणको प्रक्रियामा जाने जनवाद अपनाएको भन्दै श्रेष्ठले बुर्जुवा, पुँजीपतिहरूले समेत आलोचना सुन्ने गरेको समेत बैठकमा प्रस्ट्याए ।

बैठकमा नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित सातजनाले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । बैठकमा बोल्नेमध्ये श्रेष्ठ, थापा र शेरचनले आलोचनात्मक टिप्पणी गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री