काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा महासमिति बैठकमा पेस हुँदैछ । शनिबार बस्ने महासमिति बैठकमा विधान मस्यौदा पेस हुन लागेको हो । यसअघि शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदा पारित गरेको थियो ।
लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट मस्यौदा पारित भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संघीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति रहने मस्यौदा पारित गरेको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् ।
केन्द्रीय कार्यसमिति सङ्ख्या यसअघिको सहमतिअनुसार १६१ रहने वा थपिएका सहमहामन्त्रीको सङ्ख्याअनुसार थप गरी १६७ बनाउने सम्बन्धमा टुङ्ग्याउने जिम्मा प्राविधिक समूहलाई दिएको केन्द्रीय सदस्य विश्वकर्माले बताए ।
पार्टीका शीर्ष नेताबीचको लामो रस्साकस्सीपछि विधानमा रहने पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति भएपछि केन्द्रीय कार्यसमितिबाट सो मस्यौदा पारित भएको हो । कांग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ । पुस ३ गते समापन गर्ने भनिए पनि विधान मस्यौदामा सहमति जुट्न नसक्दा महासमिति बैठक लम्बिएको छ ।
कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट आज ११ बजे बस्ने महासमिति बैठकमा महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।
प्रतिकृया दिनुहॊस