प्रतिनिधिसभामा भ्रष्टाचारको छायाँ : पाँच सांसद निलम्बन, एक फरार

काठमाडौं । भ्रष्टाचार र आपराधिक प्रकरणमा संलग्नता देखिएको आरोपपछि प्रतिनिधिसभाका पाँच जना सांसद निलम्बनमा परेका छन् भने एक जना फरार अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै दायर गरेका मुद्दापछि जेठ महिनामै दुई जना सांसद स्वतः निलम्बनमा परेका हुन् ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी प्रतिनिधिसभाबाट स्वतः निलम्बित भएका छन् ।

यसअघि, टेरामक्स प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियारले जेठ १ गते नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेपछि उनी पनि सांसद पदबाट निलम्बित भएका थिए । यी दुईको निलम्बनसँगै हालसम्म प्रतिनिधिसभाका ५ जना सांसदमध्ये ४ जना निलम्बनमा छन् ।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २०८१ पुस ८ गतेदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा निलम्बनमा परेका थिए । यस्तै, नेकपा एमालेका टोपबहादुर रायमाझी २०८० असार १ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता भएपछि निलम्बित छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत सहकारी बचत अपचलन प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै २०८१ वैशाख १४ देखि फरार छिन् । उनलाई नवलपुरस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप