काठमाडौं । लगानी बोर्ड नेपालले मुक्तिनाथसम्म केवलकार निर्माणको ठुलो परियोजनालाई स्वीकृति दिएको छ। प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६४औं बैठकले विभिन्न महत्वपूर्ण परियोजनाहरू अघि बढाउने निर्णय गरेको हो।
बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी–नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार निर्माणका लागि ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँको लगानी प्रस्ताव स्वीकृत गरेको हो। ८१.०४१ किलोमिटर लम्बाइको सो केवलकार परियोजनामा सात वटा स्टेशन रहनेछन्। परियोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा ‘मुक्तिनाथ दर्शन प्रालि’ ले लगानी गर्नेछ।
योजनाको विकास प्रक्रिया अघि बढाउन बोर्डले प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ। परियोजना सञ्चालनमा आएपछि यसले पर्यटकीय गतिविधि र रोजगारीमा उल्लेखनीय वृद्धि ल्याउने अपेक्षा गरिएको छ।
यससँगै बैठकले १६० अर्ब रुपैयाँको लागतमा निर्माण गरिने ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने निर्णय पनि गरेको छ।
साथै, दक्षिण कोरियाको कोरेल (KORAIL) संस्थासँग नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने निर्णय भएको छ।
बैठकमा अन्य जलविद्युत् परियोजनाहरूलाई पनि स्वीकृति दिइएको छ — जसमा ४३.२ मेगावाट क्षमताको छिलुुङ खोला, २१६ मेगावाटको बझाङ माथिल्लो सेती, र ४४ मेगावाटको बकान खोला जलविद्युत् आयोजना समावेश छन्।
त्यस्तै, जनकपुरमा रिफाइन्ड खानेतेल उद्योग र विभिन्न स्थानहरूमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरूलाई अघि बढाउने निर्णय पनि बोर्डले गरेको छ।




