नेपाली काँग्रेस महासमिति बैठक : आजदेखी पार्टी कार्यालयको प्राङ्गणमा सुरु

काठमाडौँ । राजधानीमा जारी नेपाली काँग्रेसको महासमिति बैठक अझै लम्बिएको छ । पुस ३ गते समापन हुने भनिएको बैठक लम्बिएपछि बिहीबारदेखि पार्टी कार्यालय सानेपामा नै बस्ने भएको छ । रामशाहपथस्थित एक पार्टी प्यालेसमा मङ्सिर २८ गतेदेखि हुँदै आएको बैठक बिहीबार बिहान ९ बजेदेखि पार्टी कार्यालयको प्राङ्गणमा चल्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उहाँले बुधबार राति अवेरसम्म भए पनि विधान संशोधनको प्रस्तावमा सहमति जुट्ने र बिहीबारको बैठकमा सदस्यहरूको हातहातमा पु¥याएर त्यसमाथि छलफल हुने बताउनुभयो । उहाँले अहिलेसम्म आफ्ना विचार राख्न समय नपाएकाहरूलाई विधानका बारेमा विचार राख्न समय दिइने बताए ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको विधान संशोधनका बारेमा महासमिति बैठक अगावै केन्द्रीय कार्यसमितिमा सहमति जुट्न नसक्दा बैठक लम्बिन पुगेको बताए। उनले केन्द्रीय समितिले प्रस्तावको मस्यौदा पारित गरेको भए चार पाँच दिनसम्म विधानमाथि व्यापक छलफल गरिनुपर्नेमा वक्तालाई चार मिनेट समयमा सीमित गर्नुपरेको, पार्टीका आगामी रणनीति के हुने कसरी जाने भन्ने बारेमा योजना बनाउन नसकिरहेको बताए । विधानबाहेक अन्य प्रस्तावहरुमाथि पनि ठोस छलफल हुन प्रशस्त समय नपाएको गुनासो महाअधिवेशन प्रतिनिधिहरूको छ ।

बुधबारको बैठकमा १७० भन्दा बढी सदस्यले आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा बोल्ने अधिकांश सदस्यले केन्द्रीय नेतृत्वहरू गुट उपगुटमा लाग्दा पार्टी कमजोर भएको, पार्टीको तल्लो तहलाई अधिकार सम्पन्न र बलियो बनाउनु जरुरी भएको, निर्वाचनमा मेरा र तेरा भन्दै टिकट वितरण नगरी इमानदार र सक्षमलाई टिकट वितरण गरिनुपर्ने धारणा राखेका थिए ।

बैठकमा बोल्ने वक्ताहरूले स्वर्गीय नेता बीपी कोइरालाको जस्तो विचार, गिरिजाप्रसाद कोइरालाको जस्तो अठोट, सुशील कोइरालाको जस्तो इमानदार प्रवृत्ति, कृष्ण्प्रसाद भट्टराई र गणेशमान सिंहको जस्तो त्यागी मन र सुवर्णशमशेरको जस्तो धन भएको नेताको आवश्यकता रहेको बताए । वक्ताहरूले केन्द्रीय नेतृत्व आआफ्नै स्वार्थमा लिप्त भएको र स्वार्थ नमिल्दासम्म गुटबन्दी गर्ने, केही पद पाए फेरि गुटउपगुट एक हुने चरित्र देखाएको भन्दै आलोचना समेत गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप