काठमाडाैं । बार्सिलोनाले स्पेनिस ला लिगाको २८ औं संस्करणको उपाधि जित्दै सिजनको तेस्रो घरेलु सफलता हात पारेको छ । इस्पानियोलविरुद्धको खेलमा २-० को सहज जित निकाल्दै बार्सिलोनाले दुई खेल अगावै उपाधि सुनिश्चित गरेको हो ।
खेलको ५३ औं मिनेटमा १७ वर्षीय युवा सनसनी लामिन यमालले लिगभरि चर्चा कमाएको प्रदर्शनलाई फेरि पुष्टि गर्दै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । लामो दुरीबाट उनले प्रहार गरेको घुमाउरो बल सिधा जाली चुमेपछि दर्शकदीर्घामा उत्साह छायो ।
खेलको इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले अर्को गोल थपेपछि बार्सिलोनाले २-० को जित दर्ता गर्दै उपाधि कब्जा गर्यो । अब लिगका दुई खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ७ अंकले पछि पारेको छ ।
यो सिजन प्रशिक्षक हान्सी फ्लिकको प्रशिक्षणमा पहिलोपटक मैदान उत्रिएको बार्सिलोनाका लागि विशेष रह्यो । लिग उपाधिसँगै यसअघि कोपा डेल रे र स्पेनिस सुपर कप पनि जितिसकेको बार्सिलोनाले सिजनको तीनै प्रमुख घरेलु उपाधिमा कब्जा जमाउँदै समग्रमा प्रभावशाली प्रदर्शन गरेको छ ।
वर्तमान फुटबल संसारका सबैभन्दा रोमाञ्चक युवा खेलाडीमध्ये एक मानिएका लामिन यमालले यस खेलमा देखाएको कौशलले उनको सम्भावनामा थप उज्यालो पारेको छ । बार्सिलोनाका समर्थकहरूका लागि यो सिजन ऐतिहासिक बन्न पुगेको छ ।




