‘सगरमाथा संवाद’ आजदेखि सुरु : जलवायु परिवर्तन र पर्वतीय संकटबारे विश्वस्तरको बहस

काठमाडौं । जलवायु परिवर्तनका चुनौती र त्यसले पर्वतीय क्षेत्रमा पारिरहेको प्रभावबारे अन्तर्राष्ट्रिय बहस चलाउने उद्देश्यसहित सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु भएको छ । संवादको मूल नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय गरिएको छ । कार्यक्रम यही जेठ ४ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सञ्चालित संवादमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित १७५ जना विदेशी अतिथि सहभागी छन् भने करिब त्यत्तिकै संख्यामा नेपाली सहभागीता रहेको छ । चीन र भारतका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका पाहुना आउने क्रम जारी छ ।

संवादको उद्घाटन समारोहमा जलवायु संकटबारे विशेष श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ । साथै भारत र चीनका विशिष्ट पाहुनाहरू, कोप–२९ अध्यक्ष तथा अजरबैजान राष्ट्रपतिका जलवायु प्रतिनिधि लगायतले सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसको सन्देशयुक्त भिडियो सम्बोधन पनि समारोहमा प्रस्तुत गरिनेछ ।

उद्घाटनलगत्तै हुने ‘प्लेनरी सेसन’ मा सहभागी राष्ट्र तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय संस्थाहरूले जलवायु परिवर्तन, पर्वतीय पारिस्थितिकी र संरक्षणका प्रयासबारे धारणा राख्नेछन् ।

संवादमा आजैदेखि समानान्तर सत्रहरू सुरु हुनेछन्, जसमा राजनीतिज्ञ, नीति निर्माता, वैज्ञानिक, वातावरणविद्, अनुसन्धानकर्ता र नागरिक समाजका प्रतिनिधिले सहभागिता जनाउनेछन् । बहुआयामिक छलफलमार्फत जलवायु संकटका समाधान खोजिने आयोजक पक्षको भनाइ छ ।

कार्यक्रममा सार्क, बिम्स्टेक, विश्व बैंक, एडीबी, विश्वविद्यालय, अनुसन्धान संस्था तथा विभिन्न एनजिओ र आइएनजिओ गरी ६१ स्वदेशी–विदेशी संस्थाले भाग लिएका छन् ।

तीन दिनसम्म चल्ने संवादको अन्तिम दिन विदेशी पाहुनाहरूका लागि हिमाल अवलोकनका लागि पर्वतीय उडानको व्यवस्था गरिएको छ । सोही दिन संवादको ‘काठमाडौँ घोषणा’ जारी गरिनेछ, जसमा जलवायु संरक्षणबारे नेपाल र सहभागी मुलुकको साझा धारणा समेटिने अपेक्षा गरिएको छ ।

संवादमार्फत नेपालले वातावरण संरक्षणमा देखाएको आफ्ना असल अभ्यासहरू विश्वसामु प्रस्तुत गर्नेछ भने अन्तर्राष्ट्रिय अभ्यासहरूबाट पाठ सिक्ने अवसर पनि मिल्नेछ । संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ घोषणा गरिसकेको सन्दर्भमा हिमाली विषयले संवादमा विशेष स्थान पाउनेछ ।

सगरमाथा संवादको आयोजना प्रत्येक दुई वर्षमा गर्ने सरकारी निर्णयअनुसार यो पहिलो संस्करण हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट स्थापित संवादको मूल उद्देश्य हो – मानवताको साझा हित र सामूहिक कल्याणको प्रवर्द्धन गर्नु ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री