काठमाडौं महानगरका चार समितिमा संयोजक परिवर्तन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत गठन गरिएका चारवटा समितिमा संयोजकको जिम्मेवारी हेरफेर गरेका छन् ।

महानगर कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०७४ को नियम १५ अनुसार गठन गरिएका समितिका संयोजकहरूलाई उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमार्फत जानकारी दिइएको छ । हेरफेरअनुसार सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरको स्थानमा वीरेन्द्र प्रजापती, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको सट्टा दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको सट्टा विनोद कुमार राजभण्डारी र विधायन समितिका संयोजक मचाराजा महर्जनको स्थानमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको हो ।

महानगरले समग्र कार्य सम्पादनलाई अझ प्रभावकारी र उत्तरदायी बनाउन संयोजकहरूको जिम्मेवारी पुनः बाँडफाँड गरिएको जनाएको छ । समितिहरू महानगरको नीतिगत कार्यदिशा निर्माण, कार्यान्वयन अनुगमन र सुझाव प्रस्तुत गर्ने महत्त्वपूर्ण निकायका रूपमा क्रियाशील छन् । संयोजक परिवर्तनसँगै महानगरले आगामी दिनमा तीव्र रूपमा नीति निर्माण र स्थानीय सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री