काठमाडौँमा लामिनार टायल्स्को एस्क्लुसिभ फ्ल्यागशिप सेन्टरको शुभारम्भ

काठमाडौँ । नेपाली टायल्स उद्योगको अग्रणी कम्पनी लामिनार टायल्स्ले राजधानीको गैरीधारामा आफ्नो पहिलो फ्ल्यागशिप एक्सपिरियन्स सेन्टरको भव्य शुभारम्भ गरेको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सोमबार एक विशेष समारोहका बीच उक्त केन्द्रको औपचारिक उद्घाटन गरे।

नेपालमै उत्पादित भिट्रिफाइड टायल्सको नवप्रवर्तन, प्रविधि र डिजाइन अनुभव गराउन बनाइएको यो केन्द्र निर्माणकर्मी, गृहसजावटमा रुचि राख्नेहरू, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूका लागि एक नयाँ गन्तव्यका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

४ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सेन्टरमा कम्पनीले उत्पादन गरेका ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका टायल्स डिजाइनहरू सातवटा संग्रहमा वर्गीकृत गरी प्रदर्शनीमा राखिएको छ। उपभोक्ताहरूले यहाँ घर, अफिस, होटल, अस्पताल, शैक्षिक संस्था, विमानस्थलदेखि पार्किङ क्षेत्रसम्म प्रयोग गर्न मिल्ने टायल्सको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

विशेषतः टायल्सका विभिन्न प्रयोगक्षेत्र — भित्ता, भुइँ, बाथरुम, छत, ड्राइभवे, क्ल्याडिङ र बाहिरी सतहका समाधानसमेत सेन्टरमा प्रस्तुत गरिएको छ।

लामिनार टायल्सका अध्यक्ष धर्म धितालका अनुसार यो सेन्टर केवल उत्पादनको प्रदर्शनी स्थल मात्र नभई, डिजाइन प्रेरणाको नयाँ गन्तव्य हो। “यो नेपालकै नवप्रवर्तनको अद्वितीय उदाहरण हो,” उनले भने, “सेन्टरले हाम्रो विश्वस्तरीय गुणस्तर, दिगोपन र स्थानीय निर्माणप्रतिको प्रतिबद्धता दर्शाउँछ।”

उद्घाटन अवसरमा मन्त्री सिंहले नेपाली उत्पादनको उपयोग बढाउनु पर्नेमा जोड दिँदै सबै निर्माण परियोजनामा नेपाली टायल्सको प्रयोग गर्न आग्रह गरे।

लामिनार टायल्स लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा गुलरिया, बर्दियास्थित १४ बिघा क्षेत्रफलमा फैलिएको आधुनिक उत्पादन केन्द्रबाट निर्माण भइरहेको हो। कम्पनीको दैनिक उत्पादन क्षमता १ लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ।

कम्पनीका अनुसार प्रदर्शित टायल्स अत्यधिक मजबुत, कम पानी सोस्ने (०.०८% भन्दा कम), दाग प्रतिरोधी र दीर्घकालीन टिकाउ विशेषता बोकेको छन्, जसले घर वा व्यावसायिक भवनहरूलाई दिगो सौन्दर्य प्रदान गर्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री