उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन

काठमाडौं । सरकारी अस्पतालमा उपचार गराउने बिरामीले अबदेखि चिकित्सकको पूरा विवरण रिपोर्टमा पाउने छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गर्दै उपचारमा संलग्न चिकित्सकको विवरण अनिवार्यरूपमा उल्लेख गर्न निर्देशन दिएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी गरिएको निर्देशनअनुसार बिरामीको रिपोर्टमा चिकित्सकको पूरा नाम, विशेषज्ञता, नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर तथा सही छाप उल्लेख गर्नुपर्नेछ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “यो व्यवस्था लागू भएपछि बिरामीको पुनः परीक्षण तथा उपचार प्रक्रियामा पारदर्शिता आउँछ र अनावश्यक परीक्षण तथा बाह्य सिफारिसहरूमा पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ।”

उनले थपे, “अहिलेसम्म चिकित्सकका सिफारिसहरूमा पूर्ण विवरण नहुँदा उपचारमा कठिनाइ हुने, त्रुटिको पहिचानमा समस्या हुने, र जिम्मेवारीको अभाव हुनेजस्ता समस्या देखिँदै आएका छन्। नयाँ प्रणालीले चिकित्सकहरूलाई थप जवाफदेही र जिम्मेवार बनाउनेछ।”

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस अघि नै सरकारी अस्पतालहरूको उपचार सेवामा गुणात्मक सुधारको खाँचो औंल्याउँदै आएका थिए। उनको निजी सचिवालयका अनुसार, नयाँ निर्देशनले सरकारी अस्पतालहरूमा सेवा प्रभावकारितामा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री