औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिमा नागरिकको खर्च घटाउन राज्यले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सोमबार कान्ति बाल अस्पतालको ६३औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकार औषधि खर्च घटाउन प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै औषधि खर्च कम गर्न योजनाबद्ध काम भइरहेको छ।

उनले कान्ति बाल अस्पतालको विकास र विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको भए पनि प्रक्रियागत अड्चनका कारण प्रगति सुस्त भएको बताए। अघिल्लो आर्थिक वर्षमा अस्पतालका लागि झन्डै ८०/८१ करोड बजेट छुट्याइए पनि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा काम अघि बढ्न नसकेको मन्त्री पौडेलले स्पष्ट पारे। तर अब छिट्टै यी समस्याहरू समाधान गरेर कार्यलाई तीव्रता दिने उनको आश्वासन छ।

मन्त्री पौडेलले बाल स्वास्थ्य सेवालाई सातै प्रदेशमा विस्तार गर्ने उद्देश्यसहित कान्ति अस्पताललाई नेतृत्वदायी संस्था बनाउने योजना रहेको उल्लेख गरे। “बाल उपचारका लागि आवश्यक जनशक्ति यहीँ उत्पादन गर्नुपर्छ। अनुसन्धान र जनशक्ति विकासका क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ,” उनले भने।

त्यसैगरी, उनले अस्पतालभित्रै कार्यरत चिकित्सक र व्यवस्थापनको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै संस्थागत सुधारका लागि सक्रिय कदम चालिनुपर्ने बताए। मन्त्री पौडेलले भने, “अस्पताललाई अझ प्रभावकारी बनाउन यहाँका चिकित्सक र कर्मचारीले पनि महत्वपूर्ण योगदान दिनुपर्छ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गेटा पुगेर स्वास्थ्यमन्त्रीले भने- ‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा …

प्रतिकृया दिनुहॊस