काठमाडौँ । पछिल्लो समयमा नेपालमा लगातार भूकम्पका झट्काहरू महसुस भइरहेका छन् । बिहीबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको माझिटार आसपास केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्प दिउँसो १ बजेर २ मिनेटमा आएको हो ।
यसअघि पनि विभिन्न मितिमा नेपालका विभिन्न क्षेत्रमा भूकम्पका झट्काहरू महसुस भएका थिए । पुस १६ गते बैतडीमा ४.६ म्याग्निच्युड, पुस ११ गते जाजरकोटमा ४.२ म्याग्निच्युड, पुस ९ गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै, पुस ५ गते बाजुरामा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्पको झट्का महसुस गरिएको थियो ।
यो क्रमले नेपाल भूकम्पीय जोखिममा रहेको तथ्यलाई पुनः उजागर गरेको छ । विशेषज्ञहरूले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर पूर्वतयारी र सचेतना बढाउन सुझाव दिएका छन् ।




