शिर झुकाउँदै ओलीले गरे चर्चको प्रशंसा र हानको सम्मान

काठमाडाैं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन ।

‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दुःखद हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले हामी यसमा गएनौं, जानु उचित पनि थिएन।’ यही आशंकाले आफूहरू सम्मेलनमा सहभागी नहुने संस्थागत निर्णय नै गरेको कांग्रेसले जनाएको छ।

उद्घाटन समारोहका सबैजसो वक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरे । ‘उहाँको अनुहारको कान्ति हेर्नुस्, कस्तो चमक छ’ भारतीय जनता पार्टीका नेता विजय जोलीले हानलाई सम्बोधन गर्दै भने, ‘उहाँ साक्षात् शान्तिको दूत हुनुहुन्छ, यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ । एकपटक हामी सबै उहाँको सम्मानमा उठौं।’

जोलीले यसो भनेलगत्तै उद्घाटन सत्रमा सहभागी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापादेखि दर्जनौं सचिव, मेयरलगायत उच्च पदस्थ नेपाली, म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत ७ देशका राष्ट्र–सरकार प्रमुख–उपप्रमुख र ५० देशका १५ सय सहभागी आफूलाई ईश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’ को अघिल्तिर उठेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

‘सन् १९५४ मा चर्च स्थापना गर्ने पवित्र पिता तथा हानका श्रीमान् सन् म्युङ मुन २०१२ मा बितेको भए पनि उहाँको पवित्र आत्मा आफूहरूमाझ नै भएकाले पिता मुन पनि जीवितै भएको’ घोषणा गर्दै जोलीले कामना गरे, ‘सबैलाई उनको प्रेरणा मिलोस् ।’

त्यसपछि सम्मेलनलाई सम्बोधन गर्दै श्रीमती हानले भनिन्, ‘परमेश्वरमाथि विश्वास गर, मैले भनेको मान । कसैले दुःख पाउने छैन । अब म यो भूमिलगायत एसिया प्रशान्त क्षेत्रलाई नै शान्ति क्षेत्र र यहाँका मानिसलाई ईश्वरका प्यारा सन्तान भएको घोषणा गर्छु।’ सभामा उपस्थित सबैले तालीको गडगडाहटकासाथ उनको घोषणालाई स्वागत गरे । मातृभाषा कोरियालीमा बोलेकी हानको भाषणलाई नेपाली,अंग्रेजी, जापानी, रुसीलगायत भाषामा अनुवाद गरिएको थियो।

सन् १९९३ पछि विश्वमा विभिन्न खालका हिंसा बढेको र त्यसको एकमात्र कारण बाइबलको आज्ञा उल्लंघन भएको दाबी गर्दै उनले मानिसहरूमा ईश्वरप्रति विश्वास घट्दै गएकाले त्यसलाई रोक्न आफू पृथ्वीमा आएको दाबी गरिन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले बुद्ध जन्मेको देश नेपाल संसारको पुराना सभ्यतामध्येको एक भएको र यस्तो खालको कार्यक्रम नेपालमाआयोजना हुँदा खुसी लागेको बताए । सम्बोधनलगत्तै उनी राष्ट्रसंघीय कार्यक्रममा पोल्यान्ड जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न विमानस्थलतिरलागेका थिए ।

त्यसपछि चर्च र हानको प्रशंसा गर्ने तथा उनैले आफूलाई ईश्वरको अवतार दाबी गर्ने क्रम सुरु भएको थियो । हुन सेन, सुकीलगायतले पनि सम्बोधन गर्दै सम्मेलन भव्य रूपमा आयोजना भएकामा खुसी लागेको बताएका थिए । ‘म्याडम मुन हामी सबकी एकमात्र आमा हुनुहुन्छ,’ पूर्वप्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीको सम्बोधनपछि कार्यक्रम आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष थोमस वाल्सले भने, ‘उहाँले बोल्दा सम्मान प्रकट गर्न र ध्यान दिएर सुन्न म सबैलाई आग्रह गर्न चाहन्छु।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस