१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको छ । सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गर्ने निर्णय गरेको सुनुवाइ समिति सदस्य भगवती न्यौपानेले जानकारी दिइन् ।

श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण अधिकारीको भने नाम अनुमोदन भएको छैन । ‘उहाँले आफ्नो शैक्षिक प्रमाणपत्र पेस नगरेकाले उनको नाम अनुमोदन नभएको हो,’ न्यौपानेले भनिन्, ‘अर्को बैठकसम्म प्रमाणपत्र पेस गर्नका लागि समय दिइएको छ ।’ बिहीबारको सुनुवाइ समितिको बैठकमा रास्वपाका डोलप्रसाद अर्याल र जसपाका प्रकाश अधिकारीले भने निर्णयमा फरक मत राखेका छन् ।

१२ जना प्रस्तावित राजदूतहरूको नाम समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । चार जना प्रस्तावित राजदूतको नाम भने बहुमतबाट अनुमोदन भएको छ भने एक जनाको कागजात नपुगेको भन्दै स्थगित गरिएको हो । सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डिपी) ले तीन प्रस्तावित राजदूतहरूका बारेमा फरक मत राखेका थिए । उनले धनप्रसाद पण्डित, कपिल श्रेष्ठ र नेत्रप्रसाद तिमिल्सिनाका सन्दर्भलाई लिएर फरक मत राखेका हुन् ।
जनता समाजवादी पार्टी नेपालले चार जना प्रस्तावित राजदूतहरूबारे फरक मत राखेको छ । धनप्रसाद पण्डित, कपिल श्रेष्ठ, नेत्रप्रसाद तिमिल्सिना र शंकरप्रसाद शर्माका बारेमा जसपा नेपालले फरक मत राखेको हो ।

यीमध्ये श्रेष्ठमाथि यौन हिंसाको उजुरी परेको र कारबाहीसमेत भइसकेको विषय सांसदहरूले राखेका थिए । तिमिल्सिनाबारे रेडक्रसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको, पण्डितको योग्यता र क्षमतामै प्रश्न तथा शर्मालाई राजदूत सिफारिसम्बन्धी निर्देशिकाविपरीत पुनः सिफारिस गरिएकोमा सांसदहरूले फरक मत राखेका हुन् । त्यसैले उनीहरूको नाम बहुमतका आधारमा अनुमोदन गरिएको हो ।

सरकारले चीनका लागि कृष्णप्रसाद ओली, इसराइलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शैल रूपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, भारतका लागि शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, स्पेनका लागि सनिल नेपाल राजदूत प्रस्ताव गरेको थियो ।

यस्तै अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना, रूसका लागि जंगव चौहानलाई राजदूतमा सिफारिस गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री