सहज भयो यात्राः ४० मिनेटमै पुगिन्छ मुग्लिनबाट नारायणगढ

काठमाडाै‌ । काठमाडौंका ५० वर्षीय राजेन्द्र तण्डुकार नारायणगढ–मुग्लिन सडकखण्डसँग अभ्यस्त छन्। सडकखण्डमा उनले धेरै समय पनि बिताएका छन्।

२४ वर्षदेखि सवारीसाधन चलाउने काम गर्दै आएका उनी काठमाडौं–नारायणगढ रुटमा माइक्रो बस चलाउँछन् । १२ वर्षअघि राजेन्द्रले किनेको बा२ ख २५६४ नम्बरको माइक्रो बस यही रुटमा चल्छ। हरेक दिन बिहान काठमाडौंबाट चितवन आउने र बेलुका फर्किने गर्छन् उनी। उनले सवारीसाधन चलाउन थालेयता अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सबैभन्दा राम्रो बनेको छ। त्यसैले माइक्रो चलाउन उनलाई सजिलो पनि भएको छ।

बिहीबार बिहान सबा आठ बजे काठमाडौंबाट हिँडेका उनी साढे १२ बजे नारायणगढ आइपुगेका थिए। ‘काठमाडौं–नारायणगढ चार घण्टाको बाटो हो’, उनी भन्छन्, ‘बाटो बनाउन थाल्नुपहिले पाँच घण्टामा आइपुगिन्थ्यो।’ एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाइएको छ। अहिले सडकको स्वरुप र सरर हुने यात्राले विगतको सास्ती बिर्साएको छ।

सडकखण्ड विस्तारको काम हुँदा भने उनको यात्रा पाँच घण्टामा पूरा भएन। दिनमै काठमाडौं–नारायणगढको दुईतर्फी यात्रा गर्ने उनी कहिले एकतर्फी यात्रामा सीमित भए, कहिले त दुई दिन पनि लाग्यो। ‘चार घण्टाको बाटोलाई २४ घण्टाभन्दा बढी पनि लाग्यो। नारायणगढ–मुग्लिनमै दिन पनि बिते’, उनले भने। उनले काठमाडौंबाट नारायणगढ आइपुग्न लाग्ने समय त कतिपटक यही सडकखण्डमा बिताएका थिए।

मर्मतका बेला नारायणगढ–मुग्लिन खण्ड पार गर्नमात्रै तीनचार घण्टा लाग्थ्यो। अहिले यो दूरी उनी ४०-४५ मिनेटमा सजिलै पार गर्छन्। यो खबर आजको नागरिक दैनिकमा सविता श्रेष्ठले लेखेकी छन्।

विगतमा यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले पनि धुलो, खाल्डाखुल्डी, जाम र डरलाग्दा पहिरोको जोखिम खेपे। अहिले सडकको स्वरुप र सरर हुने यात्राका कारण यात्रुले राहत महसुस गरेका छन्। यो खण्ड २०३६ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको हो।

नेपालमा एसियाली सडकका दुईवटा नेटवर्क छन्। एएच–०१ मा पूर्व–पश्चिम राजमार्ग पर्छ। एएच–४२ नेटवर्कमा कोदारीबाट काठमाडौं, नारायणगढ हुँदै वीरगन्ज पुग्ने सडक जोडिएको छ। एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाउने काम गरिएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस