काठमाडाैं । रौतहटमा मनि ट्रान्सफर लुट्ने क्रममा गोली चलेको छ । परोहा नगरपालिका-२ मा रहेको शिव मनि ट्रान्सफरमा भारतको बिहारबाट आएका तीन जनाले लुटपाट गर्न खोज्ने क्रममा गोली चलाएका हुन् ।
गोली लागेर मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका छन् । साहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ ।
भारतीय नम्बरको अपाचे मोटरसाइकल चढेर तीन जनाको समूहमा आएका भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए । लुटेरा समूहले चलाएको गोली साहको कञ्चटमा लागेको छ ।
लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको एसपी श्रेष्ठले बताए ।
घटनास्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईसहितका टोली खटिएको छ । नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । घटनास्थल सीमा क्षेत्रबाट करिब तीन सय मिटर उत्तर क्षेत्र पर्दछ ।
प्रतिकृया दिनुहॊस