प्रकाश सपुतको पहिलो चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र परदेशी २ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताइन् । उनले चलचित्रलाई धेरै दर्शकले रुचाउने आशा गरेको पनि बताइन् ।

उनले चलचित्रले यो दसैँ झनै विशेष बनाउने बताइन् । त्यस्तै अभिनेता एवं गायक प्रकाश सपुतले चलचित्रमा आफू नयाँ भएको र चलचित्रको मिति सर्दा धेरै डर लागेको बताए । उनले नेपालगञ्ज, चितवन, बुटवल र पोखरा लगायतका स्थानमा प्रचारप्रसार गरेको बताए ।

उनले चलचित्र आफ्नो गाउँ वाग्लुङमा प्रिमियर गरेको बताए । बडा दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’ मा प्रकाश,वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुबाले भोग्ने पीडालाई प्रस्तुत गर्छ ।

राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्ष अगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङ्खला ‘परदेशी’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’ प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस